एक जना व्यक्ति एउटा मात्रै सहकारीको सदस्य हुन पाउने सरकारी नीति अव्यवहारिक छः भण्डारी

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले एक जना व्यक्ति एउटा मात्रै सहकारीको सदस्य हुन पाउने पछिल्लो सरकारी नीतिको विरोध गरेका छन् ।

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्षसमेत रहेका भण्डारीले सरकारले ल्याएको नीति अव्यवहारिक भन्दै सहकारीप्रति हेर्ने सरकारी दृष्टिकोण सकारात्मक हुन नसकेको गुनासो गरेका छन् । भण्डारीले एक व्यक्ति एउटा मात्रै सहकारीको सदस्य हुन पाउने लगायतका अन्य अव्यवहारिक नीतिहरु सुधार गरिनुपर्ने बताएका छन् । 

Advertisement

भण्डारीले व्यवस्थापन गर्दै आएको लालीगुराँस बिहीबार २२औं वर्षमा प्रवेश गरेको छ । मुलुकै ठूलो सहकारीको रुपमा चिनिएको लालीगुराँसले दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्री शुरु गरेको जनाएको छ । 

भण्डारीले आफूहरुले लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्री शुरु गरेको जानकारी दिएका हुन् । गोदावरीमा रहेको यस उद्योगबाट दुध, दही, मोही, नौनी, ध्यूको बिक्री वितरण शुरु गरेको छ । 

चितवनको खैरहनीमा नेपाल कै ठूलो गाई फार्म सञ्चालन गरिरहेको लालीगुराँसले सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिँदै जाने बताएको छ । संस्थाले आजैबाट संस्थाको एटीएम सेवा शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले यसको उद्घाटन गरेका छन् । पुल्चोकस्थित मुख्य कार्यालयमा राखिएको एटीएममा आजैदेखि सेवा सुरुवात गरिने जनाइएको छ । अब सम्पूर्ण शेयर सदस्यहरुले एटीएम सेवा लिनसक्ने संस्थाले जनाएको छ । अन्य सुविधा काउन्टरहरुमा पनि चाँडै एटीएम बुथ सञ्चालनमा ल्याइने लालीगुराँसले बताएको छ । 

सो संस्थाले ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । लालीगुराँसका २१ हजार शेयर सदस्य छन् । तीन सय सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत उपलब्ध गराएको छ । 

लालीगुराँसले लालीगुराँस राष्ट्रिय मावि तथा कलेज सञ्चालन गर्नुका साथै अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । त्यसैगरी, ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल पनि सञ्चालन गर्दै आएको यस संस्थाले सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावरमा पनि मुख्य लगानी गरेको छ । आफ्नो सेवालाई स्तरीय र सरल बनाउन काठमाडौं उपत्यका बाहिर पनि सेवा विस्तार गरिने बताएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुनपाउने जस्ता नीति ल्याएको भन्दै त्यो अव्यवहारिक भएको बताए । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्षसमेत रहेका भण्डारीले सहकारी क्षेत्रलाई हेर्ने सरकारी दृष्टीकोणमा सुधार आउनुपर्ने बताए । 

Advertisement

Advertisement