भारतबाट मात्रै ९५ प्रतिशत प्याज आयात, अर्बौंको आयातभन्दा यहीं उत्पादन बढाउन सकिन्न ?

Advertisement

काठमाडौं । भारतले हरेक सालजस्तै यसपटक पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा हाहाकार भएको छ । भारतले आन्तरिक बजारमा भाउ बढेको भन्दै दुई साताअघि निर्यातमा बन्द गरेपछि प्याजको नेपालमा मूल्य अकासिएर डेढ सय रुपियाँ प्रतिकिलो नाघेको छ । मुलुकको उत्पादनले ग्रामीण क्षेत्रको घरायसी उपभोगलाई मात्रै धान्ने भएपछि बजारको मागमा मुलुक पूर्णतया भारतमा निर्भर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका आलु, प्याजको थोक विक्रेता प्रकाश गजुरेल भन्छन्, ‘स्वदेशी प्याज सहरी उपभोक्ताको भान्सामै पुग्दैन । ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात भइरहेको छ,’ उनले भने, ‘काठमाडौंमा मात्रै दैनिक ४० देखि ५० हजार किलो प्याज भारतबाट ल्याएर बिक्री भइरहेको छ ।’ 

तर, भारतले हरेक सालजसो प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ । प्याजको अभाव भयो भने त्यहाँको राजनीति नै प्रभावित हुने कारणले खासगरी चुनावका वेला भारतमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरिन्छ । अहिले भारतले अचानक प्याज निर्यातमा प्रतिबन्ध लगाउनुलाई बिहारको चुनावसँग जोडेर हेरिएको छ । चुनावअघि प्याजको मूल्य नबढोस् भन्ने उद्देश्यका साथ सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको विश्लेषकहरू बताउँछन् । सन् २००४ को चुनावमा तत्कालीन सत्तारुढ भारतीय जनता पार्टीको हार हुनुमा प्याजको मूल्यलाई नै कारकका रूपमा मानिएको छ ।

Advertisement

गत वर्ष पनि प्याज निर्यातमा भारतले करिब दुई महिना रोक लगाउँदा १४ मंसिर ०७६ मा प्याजको मूल्य अकासिएर प्रतिकिलो २ सय ५० रुपियाँसम्म पुगेको थियो । १२ मंसिर ०७५ बाट भारतको केन्द्रीय वाणिज्य मन्त्रालयले मुलुकभित्रै प्याजको अभाव भई मूल्य अनियन्त्रित भएकाले अर्को निर्णय नभएसम्म निर्यात रोक लगाउने निर्णय गरेको थियो । त्यसको प्रभावस्वरूप नेपाली बजारमा प्याज हाहाकार भएको थियो । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement