बिशाल ग्रुप भन्छ- हामीले म्याद गुज्रिका जंक फुड बेचेकै छैन, मिडियाले गलत लेखे

Advertisement

काठमाडौं । बिशाल ग्रुपले म्याद गुज्रेका जंक फुडहरुमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको तथ्यलाई अस्वीकार गरेको छ । मिडियाले गलत समाचार प्रवाह गरेको आरोप लगाउँदै ग्रुपले उक्त तथ्य अस्वीकार गरेको हो । 

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उक्त ग्रुपको लगानी रहेको कम्पनीको गोदाममा छापा मारेर म्याद गुज्रिएका जंक फुडहरुमा नयाँ लेबल लगाउन प्रयोग गरिएको मसिनसहित ८ जनालाई पक्राउ गरेको थियो ।  

Advertisement

विशाल ग्रुप भन्छ, ‘गत केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारहरुमा उल्लेख भएको आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक होइन् ।’

आफूहरुले विधिवत रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सो को सतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको जनाउँदै आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलताप्रति सदैव सजग एंव सचेत रहेको दावी गरेको छ ।

ग्रुपले आफूले आयात गर्ने वस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको पनि दावी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) र विभागको टोलीले ग्रुपको लगानी रहेको कम्पनीका आठ जनालाई स्निकर चकलेट,ओरियो विस्कुट,आलुचिप्स लगायतका वस्तुहरुको रिलेवलिङ गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । विभागले आयान डिष्ट्रिब्युटर वाफलको २ घर र अमेजन डिष्ट्रिब्युटरको एउटा घर सिलबन्दी गरेको छ भने ३ गाडि समान पनि बरामद गरेको थियो । 

बोर्नभिटा, स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गर्दा पक्राउ परेका उनीहरुलाई दरबारमार्ग प्रहरीमा राखिएको छ ।  पुनः नयाँ म्याद टास्ने तयारी गरिएका वस्तुहरुको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement