समाजवादको आधारशीला खडा गर्ने भन्दै तयार गरिएको सहकारीको २५ बर्षे रणनीति हस्तान्तरण

Advertisement

काठमाडौं । समाजवादको आशारशीला खडा गर्ने भन्दै तयार गरिएको सहकारको २५बर्षे रणनीति बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

सहकारी विकास बोर्डले तयार पारेको रणनीतिक योजना सहकारीमन्त्री पद्या अर्याललाई हस्तान्तरण गरिएको हो । उद्यमशीलता, विकास र रोजगारीलाई महत्व दिइएको यस योजनाको मस्यौदा बुझदै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढीकरणका लागि रणनीतिक दस्तावेज निर्माण भएको र सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षसहित समग्र सहकारी क्षेत्रको विश्लेषण गरिएको बताइन् । 

Advertisement

संविधानले तीनखम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको जनाउँदै उनले संविधानको कार्यान्वयनसँग जोडेर २५ वर्षे रणनीति तयार गरिएको बताइन् । 

अर्यालले सङ्ख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेकाले तीनै तहका सरकारबीच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताइन् । रणनीति छिट्टै कार्यान्वयनमा ल्याइने उनले बताइन् । 

मन्त्री अर्यालले भनिन, “रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामी कार्यान्वयनमा लैजान कार्यनीति बनाउँछौ । कार्यनीति समयसापेक्ष बन्छ ।”     

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीतिमा २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडि बढाउने भन्ने दृष्टिकोणको दस्तावेज भएको बताउँदै उक्त रणनीति सरकारले आवधिक योजना र वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने बताए । उनले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अघि बढाइने बताए । 

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडि बढाउने भन्ने योजनासहित रणनीति तयार गरिएको बताए । 

Advertisement

Advertisement