फास्ट ट्रयाकको समय १० महिना बाँकी, भौतिक प्रगति ११ प्रतिशत मात्रै, सेना पनि यति सुस्त ?

Advertisement

काठमाडौं । नेपाली सेनाले तीन वर्षअघि निर्माणको जिम्मा पाएको काठमाडौं–तराई फास्ट ट्रयाकको काम भने अत्यन्तै सुस्त भएको छ । ४ वर्षमा सम्पन्न गर्ने गरी सेनाले २७ साउन ०७४ मा फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको थियो । तर, तोकिएको अवधि १० महिना बाँकी हुँदा आयोजनाको प्रगति ११ प्रतिशत भएको छ । खर्च भने लागतको ८ प्रतिशत मात्रै छ । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ वैशाख ०७४ मा फास्ट ट्रयाक आयोजना निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुसार २७ साउन ०७४ मा फास्ट ट्रयाक निर्माणको जिम्मा सेनाले लियो । तर, निर्धारित समयमा काम भएको भए अन्तिम चरणमा पुग्ने आयोजनाको म्याद नै थप्ने प्रस्ताव सेनाले संसद्को विकास समितिमा पेस गरेको छ । सेनाले आयोजनाको सम्पन्न गर्ने अवधि ३ वर्ष थप गरेर २०८१ पुर्‍याउन खोजेको हो । फास्ट ट्रयाकमा हालसम्म निर्माणपूर्वको तयारीको काम मात्रै भएको छ । कुल २ खर्ब १३ अर्ब लागत रहेको आयोजनामा अहिलेसम्म १६ अर्ब ६६ करोड रुपियाँ खर्च भएको छ । यो खर्च भएको रकम पछिल्ला चार आर्थिक वर्ष (०७३।७४–०७६।७७) को हो । 

Advertisement

८०७ रोपनी जग्गा प्राप्त गर्नै बाँकी 

द्रुतमार्ग आयोजनालाई आवश्यक जग्गामध्ये अझै ८ सय ७ रोपनी ५ आना प्राप्त गर्न बाँकी छ । यो कुल प्राप्त गर्नुपर्ने जग्गाको १६ प्रतिशत हो । द्रुतमार्ग निर्माणका लागि कुल ५ हजार १ सय ६५ रोपनी ४ आना जग्गा प्राप्ति गर्नुपर्ने थियो । त्यसमध्ये ४ हजार ३ सय ५७ रोपनी १४ आना भने मुआब्जा वितरण गरी प्राप्त भइसकेको छ । अब प्राप्त गर्न बाँकी रहेको जग्गामध्ये सबैभन्दा बढी ललितपुरको खोकनालगायतका क्षेत्रमा ४ सय २९ रोपनी ११ आना प्राप्त गर्न बाँकी छ । स्थानीयसँगको विवादका कारण यो जग्गा प्राप्त गर्न कठिनाइ भइरहेको सेनाले जनाएको छ । त्यस्तै, त्यसबाहेक प्राप्त गर्न बाँकी जमिनमध्ये काठमाडौँ जिल्लामा ९ रोपनी र बाँकी सबै मकवानपुर जिल्लामा रहेको आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए । यो वर्षको बजेटबाट ६० करोड रुपियाँ जग्गा प्राप्तिमा खर्च गर्ने सेनाको तयारी छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement