फेसबुकसँगको सहकार्यमा ३० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिने वर्ल्डलिंक घोषणा

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले नेपालका ३० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिने घोषणा गरेको छ । तत्कालका लागि वर्ल्डलिंकले प्रदान गर्दै आएको १० हजार निःशुल्क वाईफाई हटस्टपबाहेक सात हजार पाँच सय स्थानमा प्रदान गरिने र पछि यो संख्या थप गरी ३० हजार पुर्याइने जनाइएको छ । 

फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँग गरिएको सहकार्यबारे वर्ल्डलिंकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । इन्टरनेटमा पहुँच नभएका जनतालाई यस निःशुल्क वाईफाई सेवाले राहत मिल्ने वर्ल्डलिंकको विश्वास छ । 

Advertisement

वर्ल्डलिंकले हाल मुलुकभर १० हजार स्थानमा दिँदै आएको वाईफाई हटस्पट सेवालाई समेत आफ्नो सफ्टवयरमा गाभेर अरु २० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिनेछ । वर्ल्डलिंकको निःशुल्क वाईफाई हटस्पटमा फेसबुकले आजैबाट सेवा सुरु गरेको छ । 

इन्टरनेट प्रयोगकर्ताले एक ठाउँको हटस्पटमा लगइन गरेपछि अर्को स्थानमा स्वत लगइन हुने पत्रकार सम्मेलनमा वर्ल्डलिंकका अधिकारीहरुले बताए । वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले सरकारले फ्रिक्वेन्सी दिए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिन सकिने बताएका छन् । उनले इन्टरनेटमा पहुँच नभएका जनसंख्यालाई लाभ पुर्‍याउन निःशुल्क वाइफाइ परियोजना सुरु गरेको बताउँदै यस वाईफाई सेवामा गुणस्तरको समस्या नहुने दावी गरे । 

त्यस्तै, फेसबुकका प्रतिनिधि अमित सिंहले एक्सप्रेस वाइफाइले उच्च गतिको इन्टरनेटको लागि सहयोग पुर्याउने बताउँदै प्रयोगकर्ताले यसको छुट्टै अनुभव गर्ने बताए । 

Advertisement

Advertisement