होण्डाको सफलता र हिरोको असफलताले ज्योति समूहमा सिर्जना गरेको घरझगडा

Advertisement

काठमाडौं । सन् २०१० मा जब प्रख्यात ब्राण्ड ‘हिरो होण्डा’ छुट्टिएर होण्डा र हिरो भए, तब उक्त ब्राण्डका दुई पाँग्रे सवारी साधनहरु बिक्री गर्दै आएको नेपालको पूरानो व्यवसायिक घराना ज्योति समूहमा पनि असर पर्यो । 

भारतमा हिरो होण्डा ब्राण्ड टुक्रियसँगै सन् १९८६ देखि उक्त ब्राण्डका मोटरसाइकलहरु बिक्री गर्दै आएको स्याकार कम्पनीले होण्डा र हिरो दुवै ब्राण्ड बिक्री गर्न नपाउने परिस्थिति बन्यो । दुवै ब्राण्डलाई कसरी अगाडि बढाउने भन्ने अन्योलताका बीच ज्योति ग्रुप अफ कम्पनिज होण्डालाई स्याकार कम्पनीमार्फत र हिरोलाई नेपाल जनरल मार्केटिङमार्फत बिक्री अघि बढाउने निष्कर्षमा पुग्यो । 

Advertisement

होण्डा र हिरोलाई छुट्टा छुट्टै कम्पनीमार्फत बिक्री वितरण सुरु गर्ने ज्योति समूहको निर्णयसँगै उक्त समूहका दाजुभाई पद्य ज्योति र रुप ज्योतिबीच पनि जिम्मेवारी बाँडफाँड गरियो । सन् २०१२ मा होण्डको बिक्रीको जिम्मा पद्य ज्योतिका छोरा सौरभले सम्हाल्न थाले भने हिरोको बिक्रीको जिम्मा रुप ज्योतिका छोरा अभिक ज्योतिले लिए । त्यसअघि रुप ज्योतिले नै स्याकारको व्यापार हेर्दै आएका थिए । त्यतिबेला कम्पनीको व्यापार सरदर किसिमको थियो । 

सोहीअनुसार ज्योति भवनमा दायाँ होण्डा र बायाँ हिरोको शोरुम खडा गरियो । कर्मचारीहरु छुट्टाइयो । मेकानिक्सहरु छुट्टाइयो । खरीद बिक्री प्रक्रिया छुट्टाछुट्टै तरिका हुन थाले । वायरहाउस छुट्टाइयो । पद्यम ज्योति र रुप ज्योति दुवै ब्राण्डलाई सबल र सशक्त ढंगले बजार विस्तार गर्न सहमत भएअनुसार छुट्टिएको केही महिनासम्म राम्रै सहकार्य पनि जारी थियो । जसैगरी सौरभले होण्डाको व्यापारलाई थप विस्तार गर्दै लगे अमिकले हिरोको प्रवद्र्धन गर्न सकेनन् । हिरोको बजार दिनप्रति दिन खस्किँदै गयो । बजारमा हिरोका स्पियर पाट्र्सहरु सहजरुपमा नपाउने, ग्राहक सेवा चुस्त नहुँदा, बिक्री पछिको सेवा पनि सन्तोषजनक नहँदा हिरोप्रति उपभोक्ताको आकर्षण घट्दै गयो । यता होण्डको व्यवसायिक सफलताले ज्योति समूहमा स्याकार कम्पनी सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनी बन्न सफल भयो । होण्डलाई सफल बनाउन सौरभले नविन योजना र सुविधाहरु ल्याए । स्याकार कम्पनी होण्डाका स्कुटर बिक्रीमा नम्बर एक रहँदै आएको छ । 

आफ्नो छोराले सम्हालेको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले खासै प्रगति नगर्ने तर दाईको छोरा सौरभले सम्हालेको स्याकार कम्पनीले सोचेभन्दा राम्रो प्रगति गर्दै गएपछि रुप ज्योतिले बहिनी कमलाको साथ लिएर स्वामित्व बाँडफाँडको कुरा उठाउन थाले । आफूले सम्हालेका हरेक उद्योग व्यवसायमा असफलता र नोक्सानी हात लागिरहेको बेला रुप ज्योतिले स्याकार माथिको स्वामित्वको विवाद उठाउन थाले । जबकी स्याकार पद्यमका छोरा शौरभले हेर्ने र एनजीएम रुपका छोरा अभिकले हेर्ने, दुवै आफूले सम्हालेका व्यवसायलाई सबल बनाउने पारिवारिक भद्र सहमति भएको थियो । सहमतिअनुसार स्याकार कम्पनीमाथिको स्वामित्व दावी छोड्दा ठूलो अवसर गुम्ने देखेपछि रुप ज्योति कमला ज्योति कंसाकारले पद्य ज्योतिलाई कम्पनीको अध्यक्षबाट नै हटाउनेसम्मको निर्णयमा पुगेका छन् । पूरानो व्यवसायिक घरानामा सम्पत्ति विवादलाई दिएर सिर्जित विवाद छताछुल्ल हुँदा समग्र निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका पद्य ज्योति र मन्त्रीसमेत भइसकेका रुप ज्योतिको प्रतिष्ठामा आँच पुगेको छ । नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका सौरभलाई काका रुप ज्योतिले सिर्जना गरेको बखेडाले निराश देखिन्छन् । विवादसँगै रुप ज्योतिले आफूले बिक्री गर्दै आएको हिरोको प्रचारलाई एकाएक बढाएका छन् । दुवै समूहले एकले अर्कोलाई निशेष गर्ने र एकले अर्कोलाई खुइल्याउने क्रमले ज्योति समूहलाई कहाँ पुर्याउँछ ? भन्ने प्रश्न उठ्न थालेको छ ।   

Advertisement

Advertisement