कोरोना देखाउँदै राष्ट्र बैंकले यस बर्ष नयाँ नोट नदिने भयो, दशैं खल्लो हुने

Advertisement

काठमाडौं । हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपियाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो ।

Advertisement

कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । ‘झन्–झन् कोरोनाको संक्रमण फैलिरहेकाले यस्तो जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।

राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

कोभिडले गर्दा अब आम नेपालीले नयाँ नोट सटही गरेर दसैंमा प्रयोग गर्ने प्रवृत्ति हटाउन प्रेरित गरिने उनको भनाइ छ । यद्यपि यस पटक सर्वसाधारणले कुन बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिने र कुन बैंकमा राम्रो ब्याजमा निक्षेप राख्नेमा बढी केन्द्रित भएर प्रश्न गरेका छन् । तर, नयाँ नोटमा उनीहरूको रुचि नदेखिएको प्रवक्ता भट्टले बताए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement