कृषिमन्त्रीको प्रश्न- बचत नै हुँदैन भने किसानले कसरी किसानी गर्नसक्छ ?

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताएका छन् । कृषि मन्त्रालय अन्तरर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतवार संयुक्तरुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताए ।  

उनले भने, ‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन । तर उसको जीवनधान्न सक्ने हुनुपर्छ, कृषिले उसको जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ । यसले कृषि पेशा सुनिश्चित हुँदैन ।’ खाद्य दिवस मनाइरहँदा विश्वका अर्बौं मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् ? भन्ने कुरा विर्सन नहुने मन्त्री भुसालले बताए । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्चित गर्ने गरी मन्त्रालयको काम गरिरहेको भुषालको भनाइ छ । 

Advertisement

उनले थपे, ‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ ।’ उनले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताए । कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागु भयो जो कहीं राम्रो पनि गरेको छ कहीं त्यति राम्रो गरेको छैन, उनले भने, ‘कृषिलाई आफ्नो इतिहास, परम्परा र सँस्कृति अनुसार कृषिलाई दिगो बनाउनुपर्छ ।’

कृषकले बाटोमा दुध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन् यो गहिरो अध्ययनको विषय रहेको बताउँदै मन्त्री भुषालले अंक वृद्धि तथा नाफा कमाउने सोचले मान्छेको अवमूल्यन हुन थालेको बताए  । मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उनको भनाई छ । 

कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बाचय राख्न चुनौती रहेको बताए । आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रवद्र्धन गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजानुपर्ने बताए । सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ । यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ । 

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोडदिनुपर्ने बताए । अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ ? त्यस कुरामा पनि ध्यान दिनुपर्ने उनले बताए । केसीले भने, जसलाई हामी खाद्यान्न दिन्छौ त्यो स्वच्छ र पोषिलो हुनेपर्छ अनि मात्र दिगो कृषि सफल हुन्छ ।’ कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने कुरामा पनि उनले जोड दिए । 

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए । कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उनले यसलाई अवसरको रुपमा लिनुपर्ने बताए । खाद्य सुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्ने अधिकारीले बताए । उनले कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव पारेको छ तर यसलाई कृषि विकासका लागि अवसरको रुपमा पनि लिनुपर्ने बताए । 

Advertisement

Advertisement