तरकारीको भाउ आकाशिएको बेला कुखुराको मासुमा भने भारी गिरावट

Advertisement

काठमाडौं । तरकारीको भाउ आकाशिएको बेला कुखुराको मासुमा भने भारी गिरावट आएको छ । कुखुराको मासुमा भएको गिरावट पछिल्लो तीन वर्ष यताकै न्यून भएको व्यवसायी बताउँछन् । 

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै काठमाडौंमा कुखुराको मासु बिक्री हुन नसकेपछि प्रतिकिलो दुई सय रुपियाँभन्दा कम मूल्यमा बेच्नुपरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका सदस्यहरुले बताएका छन् । संघका उपाध्यक्ष श्रय ढकालका अनुसार माग कम हुँदा कुखुराको मासु दुई सय कम मूल्यमा बेच्नु परेको छ । यद्यपि संघले यो साता कुखुराको मासुको मूल्य प्रतिकिलो २०५ तोकेको छ । 

Advertisement

कोरोना नियन्त्रण गर्ने क्रममा सरकारले लकडाउन लागू गर्दाका सुरुका हप्तामा पनि कुखुराको मूल्यमा भारी गिरावट भएको थियो । साउन र भदौमा केही बढेको मासुको भाउ अहिले फेरि उच्च गिरावट भएको हो । कुखुरा पालक किसानहरुले दशैंतिहारलाई लक्षित गर्दै कुखुराको उत्पादन बढाए पनि सोचेअनुसार बिक्री नहुँदा किसानसँगै व्यवसायीहरु मारमा परेका छन् । 

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।

अर्कोतर्फ तरकारीको भाउ आकासिँदा उपभोक्तालाई पिरलो थपिएको छ। भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपियाँमाथि पुगेको छ। 

कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको तरकारी व्यवसायी बताउँछन् । वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन्।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसा उत्पादन घटेर उपत्यकामा कम तरकारी आएकाले भाउ महँगो भएको हो ।

Advertisement

Advertisement