युवा सजगता अभियानले अर्थविद् र व्यवसायीलाई राखेर गर्यो आर्थिक बहस

Advertisement

काठमाडौं । युवा सजगता अभियानले कोभिड १९ का कारण अर्थतन्त्रमा परेको प्रभाव र यसको पुनस्थापनाका सम्वन्धमा अर्थविद् र व्यवसायीलाई बोलाएर छलफल आयोजना गरेको छ । 

भचुअल विधिबाट गरिएको कार्यक्रममा अर्थविद् प्राडा विश्वम्भर प्याकुरेल, व्यवसायी राजेन्द्र खेतान, अर्का अर्थविद् केशब भट्टराई सहभागी थिए । चिन्तन पौडेल नेतृत्वको अभियानले मुलुकभर सञ्जाल विस्तार गरी युवा जागरणको काम गर्दै आएको छ । 

Advertisement

कार्यक्रममा प्राडा. प्याकुरेलले सन् २००८ को आर्थिक मन्दीभन्दा बढि प्रभाव अहिले कोभिड १९ पछिको तीन हप्तामा नै परेको बताए । सतर्कता अपनाएर काम गरेको अवस्थामा अर्थतन्त्रलाई रिकभरी गर्न सकिने अवस्था रहे पनि सरकारी पक्षले त्यतातर्फ ध्यान नदिएको उनले बताए । 

कोरोनाको संक्रमण कति समयसम्म रहने छ ? भन्ने कुरा अनुमान गर्नसक्ने अवस्था नहुँदा पहिला मानव जीवन, त्यसपछि अर्थतन्त्रलाई पनि कसरी जोगाउने ? भन्ने आम चिन्ताको विषय बनेको बताउँदै प्याकुरेलले यसबाट अनौपचारिक क्षेत्र सबैभन्दा बढि मारमा परेको बताए । अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको योगदान दुईतिहाई रहेको, ७० प्रतिशत रोजगारी पनि यही क्षेत्रले दिएको, तर यही क्षेत्र सबैभन्दा बढि मारमा पर्दा अर्थतन्त्रसँगै आम नागरिकको जीवनमा गहिरो प्रभाव परेको बताउँदै उनले यसको क्षति कम गर्दै लैजान सरोकारवालाबीच छलफल चलाउनुपर्ने, सरकारले पनि त्यसतर्फ बढि ध्यान दिनुपर्नेमा त्यो हुन नसकेको बताए । 

डा. प्याकुरेलले विश्वव्यापीरुपमा मानिसहरुमा तरलता बढेको देखिए पनि लगानी ठप्पजस्तै रहेको आर्थिक पुनस्थापनातर्फ राज्यको लगानी नबढ्दा निजी लगानी बढाउन कठिन हुने बताए । उनले पाँच सय गुणा बढी स्रोत अहिलेको क्षति व्यवस्थापन गर्न चाहिने अन्तर्राष्ट्रिय संस्थाहरुले बताएको पनि सुनाए । हरेक क्षेत्रमा महंगी बढ्दा र माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले पनि लगानी बढाउन नसकेको प्याकुरेलले बताए ।  

उनले साउनमा एक महिना विप्रेषण धेरै आयो भनेर रमाउने अवस्था छैन भन्दै रेमिटान्स अब घटेर जाने बताए । कोरोनाका कारण सरकारले विदेशी ऋणमाथि ऋण थप्दा नेपाली मुद्रा ९.१५ प्रतिशतले अबमूल्यान भएको बताए । कोभिडका कारण विकास आयोजना र कार्यक्रमको बजेट पनि खर्च नहुने, पारदर्शीता पनि नहुने अवस्थाले भोलि भोकमरीको अवस्था आयो भने पनि अनौठो हुँदैन भन्दै प्याकुरेलले यसको सुधारका लागि हालको प्रणालीमै आमुल परिवर्तन र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम हुनुपर्ने बताए । 

व्यवसायी राजेन्द्र खेतानले कोभिड १९ को कारण अर्थतन्त्र र आम जनताको जीवनमा ठूलो नोक्सानसँगै केही सकारात्मक सुधार पनि सुरु भएको बताउँदै बैंकहरुले ऋणमा सहजीकरण गर्नुका साथै ब्याजदर घटेको, अनलाइन प्रणालीको विस्तारले मानिसको जीवनमा सहजता ल्याएको जस्ता कुरा सकारात्मक हुन् भने । 

उनले मानिसको हिंडडुल, वस्तु तथा मुद्राको विनियम मानिसहरुको कानुनी अधिकार पनि भएकाले त्यसलाई सहज बनाउन सकियो भने पनि आर्थिक गतिविधि कायम राख्न सहयोग पुग्ने बताए । हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीभन्दा पनि तुलनात्मक लाभका क्षेत्रलाई प्रवद्र्धन गर्न ध्यान दिनुपर्ने खतानको भनाई छ । 

उनले चीनको बेइजिङ र भारतको बैङलोरलाई जोड्ने गरी नेपालले सेतुको रुपमा ‘बेइजिङ टू बैङलोर’ अभियान चलाउनुपर्ने बताए । साथै, खेतानले श्रीलंका, भुटान, बैंगलादेशसँग पनि व्यापार र कनेक्टिभिटि विस्तारका लागि नेपालले प्रयास गर्नुपर्ने बताए । 

अर्को अर्थविद् प्राढडा केशब भट्टराईले समग्र अर्थतन्त्रमाथि नै ठूलो संकट आएको बेलामा मुलुकभित्र उत्पादन वृद्धि र विशेषगरी चीन र भारतबाट प्रत्यक्ष वैदेशक लगानी भित्राउन नेपालले प्रयास गर्नुपर्ने बताए ।

Advertisement

Advertisement