दशैंमा उपभोक्तालाई महंगी उपहार, उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि

Advertisement

काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए ।

Advertisement

उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुप¥यो । ” दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे । उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

उनका अनुसार केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ । उनको अनुभवमा अरू खाद्यवस्तुको तुलनामा दुगडका उत्पादन तेल, आटा, दाललगायतका सबै सामान प्रतिकेजी वा प्रतिलिटरमा २० देखि ४० रुपियाँसम्म महँगो भएको छ । सङ्घका अनुसार यसअघि २५५ रुपियाँ प्रतिलिटरमा पाइने धारा तोरीको तेलको मूल्य थोकमै २६५ सम्म पु¥याइएकोे छ । मासको दाल प्रतिकेजी १६० बाट १७० रुपियाँ पु¥याइएको सङ्घले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए । नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । 

गोरखापत्र दैनिकबाट । 

Advertisement

Advertisement