उद्योग बाणिज्य महासंघले नै मुख फोरेर विशाल ग्रुपलाई भन्यो: गुणस्तरहीन सामान किन बेच्छौ ?

Advertisement

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले मुखै फोरेर व्यापारिक घराना विशाल ग्रुपलाई गुणस्तरहीन सामान बेच्ने गैरव्यवसायिक आचरण बन्द गर्न सल्लाह दिएको छ । 

महासंघले मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने विशाल ग्रुपको कार्य आचार सहिंता विपरीत भएको ठहर गर्दै यस्तो काम नगर्न सल्लाह दिएको छ । नाफाका लागि यसअघि पनि पटक पटक उपभोक्तामाथि ठगी गर्ने र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने क्रियाकलाप गर्दै आएको विशाल ग्रुपले भारतबात आयात गरिएको म्याद गुज्रिएका सामानहरुमा नयाँ मिति टाँसेर सामान बेचिरहेको बेलामा अनुगमन टोलीले कर्मचारीहरु पक्राउ गरेको थियो । 

Advertisement

महासंघले मंगलबार विज्ञप्ति निकाल्दै आफूले बनाएको आचार सहिंतालाई ख्याल गरेर व्यवसाय गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कसैले यस्तो कार्य  गरे आचार संहिता विपरीत हुन्छ, कुनै पनि व्यवसायी तथा व्यावसायिक घरानाले मानव स्वास्थ्यलाई प्रतिकुलता हुने गरी कार्य गर्न पाइने छैन ।’ 

कोरोना महामारीका बेला कहिकतै कम गुणस्तरीय सामान बिक्री भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्रीवितरण, म्याद गुज्रिएको वस्तु पुनः उपभोग्य मिति राखी बजारमा पठाएको, निश्चित तौल नपुर्याइ सामान बजारमा बिक्री गरेपछि महासंघले आफैले बनाएको आचारसहिंता सम्झाएको हो । यद्यपि, महासंघले बनाएको आचार सहिंता कानुन भने होइन । पालना गर्ने वा नगर्ने स्वयम् व्यवसायीमाथि निर्भर रहन्छ । 

महासंघको ३८ औं बार्षिक साधारणसभाबाट पारित आचार सहिंताको बुँदा ४ मा गुणस्तरीय सामान र सेवा उचित मूल्यमा बजारमा प्रवाहित गर्ने, तोकिएको गुणस्तर, तौल परिमाणमा नै सामान उपलब्ध गराउने र मिसावट गर्न नहुने उल्लेख गरेको छ  । सोही बुँदालाई टेकेर महासंघले विशाल ग्रुपलाई निजी क्षेत्रले बनाएको आचार सहिंतालाई स्मरण गराएको हो र यसको मर्मविपरीत नगर्न पनि भनेको छ । 

त्यसैगरी आचार सहिंताको बुँदा नम्बर ३ पनि आम जनताको स्वास्थ्यको प्रतिकुल हुने कार्य नगर्ने उल्लेख छ । बुँदा नम्बर २ मा व्यवसाय गर्दा सार्वजनिक हितको संरक्षण, सम्बद्र्धनमा विशेष ध्यान दिने, सदाचार, सार्वजनिक मूल्य र मान्यतालाई आँच आउन नदिने उल्लेख गरेको छ  ।

तर, विशाल ग्रुपले शक्तिको आडमा गुणस्तरहीन सामानमाथि नयाँ मूल्य टाँसेर धमाधम बजारमा पठाइरहेको फेला परेको हो । विशाल ग्रुप पनि महासंघको सदस्य हो । त्यही भएर आचारसहिंता स्मरण गराएको महासंघले जनाएको छ । विशाल ग्रुपले चालु आर्थिक बर्षको बजेट जारी गर्ने क्रममा अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरुलाई प्रभावित गरी चकलेटमा लाग्दै आएको कर घटाउन सफल भएको आरोप लागेको थियो । 

Advertisement

Advertisement