जासुसी गरेको आरोपमा एक नेपालीलाई भारतले पक्राउ गर्यो, नेपाललाई जानकारीसमेत दिएन

Advertisement

नयाँदिल्ली । दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।

ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।

Advertisement

दिल्ली प्रहरीको विशेष सेलले अन्य मुलुकका लागि सुराकी गरेको भन्दै पत्रकार शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरेको थियो । उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । कर छल्न खोलिएका एमजेड फार्मेसी र एमजेड मल्स नामका दुई सेल कम्पनीबाट शर्मालाई समाचारको भुक्तानी हुँदै आएको प्रहरीको दाबी छ ।

दिल्ली प्रहरीका अनुसार ती दुई कम्पनीमध्ये औषधि सप्लायर्स कम्पनीका सञ्चालक बोहरा थिए । कम्पनीको सबै कारोबार दिल्लीको महिपालपुरस्थित कार्यालयबाट हुँदै आएको प्रहरीको भनाइ छ । बोहरालाई सुरुमा १४ दिन दिल्ली प्रहरी हिरासतमा राखिएको थियो । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement