आवधिक कर्जामा स्थिर ब्याजदर सुरु, १० देखि १३ प्रतिशत हाराहारीमा निर्धारण

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घर तथा सवारी कर्जालगायत व्यक्तिगत आवधिक कर्जामा कात्तिकदेखि स्थिर ब्याजदर लागू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले असोजमसान्तसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बिहीवारसम्म मेगा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंकले १ वर्षभन्दा माथि १५ वर्षसम्मका व्यक्तिगत कर्जाको ब्याज सार्वजनिक गरेका छन् । यी बैंकले आवधिक कर्जाको स्थिर ब्याजदर अवधिअनुसार कम्तीमा करीब १० प्रतिशत र अधिकतम १३ प्रतिशतको हाराहारीमा निर्धारण गरेका छन् ।

Advertisement

साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि केन्द्रीय बैंकले दिएको निर्देशन पालना गर्न असोज ३० गतेसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न अन्तिम गृहकार्य थालेको बताउँछन् ।

मेगा बैंकले १ वर्षभन्दा माथिका सबै खाले व्यक्तिगत कर्जामा आधारदर (८ दशमलव ३० प्रतिशत) मा ५ प्रतिशत प्रिमियम थपेर स्थिर ब्याजदर कायम गरेको छ ।

यसैगरी, माछापुचछ्रे बैंकले घर कर्जाअन्तर्गत ५ वर्षसम्म ९ दशमलव ८९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ८९ प्रतिशत र १० वर्षभन्दा माथि ११ दशमलव ८९ प्रतिशत तोकेको छ । अटो तथा हायर पर्चेज (सवारीसाधन) कर्जामा ५ वर्षसम्म ९ दशमलव ९९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ९९ प्रतिशत निर्धारण गरेको छ ।

हिमालयन बैंकले ५ वर्षसम्मका व्यक्तिगत घर कर्जामा ९ दशमलव ८९ प्रतिशत, सुविधा लोन र शिक्षा कर्जामा ९ दशमलव ९९, अन्य धितो कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । बैंकले ५ देखि १० वर्षसम्मका घर कर्जामा १० दशमलव ९९, सुविधा लोन र शिक्षा कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । यस्तै, १० वर्षदेखि १५ वर्षसम्मको घर कर्जामा १२१ दशमलव ४९ प्रतिशत स्थिर ब्याज निर्धारण गरेको छ भने हायर पर्चेजको फरक अवधिको फरक ब्याजदर कायम गरेको बैंकका प्रमुख सूचना अधिकृत सुशील जोशीले जानकारी दिए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement