भैरहवा र पोखरा विमानस्थलको निर्माणकार्य सकिन लागे पनि सञ्चालन मोडालिटी अन्योलमा

Advertisement

काठमाडौं, पोखरा, भैरहवा । उपत्यकाबाहिर निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणको अन्तिम चरणको काम भइरहे पनि सञ्चालनको मोडालिटी भने टुंगिन बाँकी छ । सञ्चालनको मोडालिटी नटुंगिएपछि दुवै विमानस्थलको सुरुवाती सञ्चालन नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ । 

प्राधिकरणका अनुसार भैरहवाको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखराको काम ६५ प्रतिशत सकिएको छ । भैरहवा आगामी फागुनसम्म निर्माण सम्पन्न हुँदै छ भने पोखरा चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा विमानस्थल सम्पन्न हुने म्याद पटक–पटक थपिएको छ । 

Advertisement

भैहरवा विमानस्थलको सञ्चालन जर्मनको म्युनिखले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा अगाडि बढाउने प्रस्ताव गरेको थियो । तर, सरकारले मोडालिटी टुंगो नलगाएपछि प्राधिकरणले आफैँ सञ्चालन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । यता पोखरा पनि पिपिपी मोडलमै सञ्चालनको तयारी भए पनि मोडालिटिको टुंगो नलागेपछि प्राधिकरण आफैँ सञ्चालनको तयारीमा जुटेको हो । 

‘दुवै विमानस्थलको सञ्चालन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ,’ प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारी बताउँछन् । ऐनमा सार्वजनिक–निजी साझेदारीमा विमानस्थल सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था नभएकाले त्यसमा संशोधन नगरेसम्म पिपिपी मोडलमा विमानस्थल दिन नसकिने उनले बताए । त्यही भएकाले नै जर्मनको म्युनिख पनि आउन नसकेको अधिकारीले बताए । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement