कोरोना नियन्त्रण र उपचारमा समन्वय गर्न अर्थ मन्त्रालयमा बैठक

Advertisement

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुबीच कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न अर्थ मन्त्रालयमा बैठक बसेको छ । 

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सवै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ । 

Advertisement

सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरुको ड्रइगं डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ २०७७ मंसिर १५ गते गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको  हो । 

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रकृया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र सो को लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउनेछ । 

कोभिड-१९ को रोकथामका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा अगाडि बढाउने तथा  कोभिड – १९ को विरुद्ध विकास हुने खोप लगायतका अन्य आपतकालिन औषधिको प्रयोगलाइ व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्व प्रकृया अगाडि बढाउने निर्णय समेत भएको छ ।
 

Advertisement

Advertisement