आईएमएफ र विश्व बैंक समूहको भर्चुअल बैठकमा कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे छलफल

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएका छन् । 

सो अवसरमा गभर्नर अधिकारीले आईएमएफका डेपुटी मेनेजिङ डिरेक्टर टाओ ज्याङसँग कोभिड १९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर र त्यसको न्यूनीकरणका लागि अबलम्बन गरिएका नीतिगत व्यवस्थाका बारेमा छलफल गरेका हुन् । साथै आईएमएफले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानबारे चर्चा गरे । 

Advertisement

गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फोन्सोसँग पनि छलफल गरे । सो अवसरमा आईएफसीका भाइस प्रेसिडेन्ट अल्फोन्सोले नेपालको वित्तीय क्षमताको अभिबृद्धि, जलविद्युत क्षेत्रमा लगानी, डेभलपमेन्ट पोलिसी क्रेडिट(डीपीसी) र स्वदेशी मुद्रामा बण्ड जारी गर्ने लगायतका विषयमा चासो प्रकट गरेका थिए । 

यसैगरी गभर्नर अधिकारीसँग भर्चुअल साइड मिटिङको अवसरमा आईएमएफका साउथ इस्ट एशिया भोटिङ ग्रुप(एसईएभीजी) का कार्यकारी निर्देशक अलिसारा र बैकल्पिक कार्यकारी निर्देशक केङले विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड १९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा पारेको असरबारे जानकारी गराएका थिए । 

सो अवसरमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले आईएमएफको मोनिटर एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागिता जनाएका थिए । बैठकका क्रममा एशिया प्यासिफिक डिपार्टमन्टले रिजनल इकोनोमिक आउटलुक सार्वजनिक समेत गरेको थियो । 

उक्त वार्षिक बैठकमा गभर्नर कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोख्रेल र उपनिर्देशक डम्बर सुवेदी समेतको सहभागिता रहेको थियो । अक्टोबर १२ देखि १८ सम्म वार्षिक बैठक भएको गभर्नर कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

Advertisement

Advertisement