जनताको क्रयशक्ति घट्याघट्यै, तरकारी र खाद्यान्नको बाउ बढ्याबढ्यै

Advertisement

काठमाडौं । कोभिड–१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने अकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा एक सय रुपियाँ घटे पनि खुद्रामा पुरानै मूल्यमा बिक्री भइरहेको छ ।

चाडबाडको मुखमा मूल्यवृद्धि अरू बेला पनि हुने गरेको छ । महामारीले सबै क्षेत्र शिथिल भएको मौका छोपी अस्वाभाविक रूपमा मूल्य बढाउनु भने गलत भएको जानकारहरू बताउँछन् । ‘व्यापारीहरू संगठित छन्, उनीहरूको प्रभाव पुनः देखिएको छ । कोभिडले समस्याग्रत भइरहँदा उनीहरूमा सामाजिक उत्तरदायित्व देखिएन, छुट दिनुपर्नेमा भाउ बढाएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका पूर्वमहानिर्देशक कृष्णहरि बाँस्कोटाले भने, ‘सरकारी रबैया पनि उस्तै छ । अनुगमन प्रणाली बलियो छैन ।’ बजार अनुगमन चाडबाडमा मात्रै केन्द्रित हुँदा पनि समस्या देखिएको उनको भनाइ छ ।

Advertisement

बाँस्कोटाले उपभोक्ता पनि जागरुक नहुँदा ठगिएको तर्क गरे । ‘सामान खरिद गर्दा दुईतीन वटा पसलमा हेर्नुपर्छ, कसैले ठगी गरे उजुरी गर्नुपर्छ भन्ने भावना नै भएन,’ उनले भने । खुद्रा व्यापार संघका अनुसार केराउ, चना, दाल, खानेतेल, बोडी, राज्मालगायत खाद्यवस्तुको मूल्य बढ्न थालेको छ । विगत वर्षभन्दा यी वस्तुको मूल्य अहिले बढी छ । पछिल्लो एक महिनाको तुलनामा पनि तेल, गेडागुडी, आँटामैदा, तरकारीलगायतको मूल्य धेरै छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement