दशैं पर्वमा लगानीकर्ताहरुमा खुशीको बहार, लगातार चौथो दिन पनि बढ्यो शेयर बजार

Advertisement

काठमाडौँ । दशैं पर्वमा शेयर बजारले लगानीकर्ताहरुमा खुशीको बहार ल्याएको छ । बजार लगातार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार ८.५४ अंकले बढेको हो । ०.५३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः १६ सय माथि उक्लिएको छ । साताको अन्तिम दिन र दशैं बिदा हुनु अघिल्लो दिन आज नेप्से परिसूचक १६०६.२५ अंकमा गएर अडिएको छ । 

आज १८७ कम्पनीका ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८९ प्रतिशतले नाफा कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.६१ अंकले घाटा व्यहोरेका छन् । आजैमात्र १४ प्रतिशत लाभांश घोषणा गरेको कुमारी बैंकको उच्च कारोबार भएको छ । कुमारीको १४ करोड १५ लाख ४५ हजार २ सय ३७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

बजार बढेको दिन आज होटल समूह, जलविद्युत समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड घटे पनि अरु सबै समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहमा आज लगानीकर्ताहरु झुम्मिएका छन् । निर्जीवन बीमा समूह ३८.५२ अंकले बढेको हो ।  

दशै पर्व शुरु भएपछि शेयर बजारमा उत्साह छाएको छ । साताको दोश्रो दिन सोमबार १५.५८, तेश्रो दिन मंगलबार १३.२२ र चौथो दिन १३.९४ अंकले बढेको बजार आज अन्तिम दिन पनि ८.५४ अंकले बढेको हो । साताको पहिलो दिन आइतबार भने ५.६६ अंकले घटेको थियो । 

Advertisement

Advertisement