राति ९ः१५ देखि १२ः१० बजेसम्म ओली र सामान्तले के गफ गरे होलान ?

Advertisement

काठमाडौं । राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कुँडिएको छ । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् । यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन् । 

प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए । उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौं आएका हुन् ।

Advertisement

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो । 

राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ । 

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement