धानका लागि भनेर बंगलादेशसँग पैंचो मागेको मल तोरी र गहुँ पाक्दा पनि नआइपुग्ने

Advertisement

काठमाडौं । धान रोप्ने सिजनमा पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको अवस्थामा भएको मलको भण्डार पनि रित्तिन लागेको छ । बंगलादेश सरकारसँग सापटी मागेको ५० हजार मेट्रिकटन युरिया मल आयातमा समेत ढिलाइ भएको छ ।

किसानहरू धानबाली भित्राएर खेतमा तोरी र गहुँ छर्ने तयारीमा रहेका बेला सरकारका मल गोदामहरूमा भने मलको मौज्दात निकै कम मात्रामा रहेको छ । नेपालमा तोरी र गहुँको सिजनमा मात्रै करीब १ लाख १० हजार मेट्रिकटन रासायनिक मलको माग हुने गर्छ ।

Advertisement

तर, सरकारी अनुदानको मल विक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग यति बेला माग परिमाणको तुलनामा निकै न्यून मात्र मल मौज्दात रहेको छ ।

कृषि सामग्री कम्पनीसँग ६ सय टन डीएपी र ८ सय टन पोटास मौज्दात छ भने युरिया मलको मौज्दात शून्य छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनसँग युरिया ८ हजार टन, डीएपी ११ हजार टन र पोटास ४ सय टन मौज्दात रहेको छ ।

कृषि सामग्री कम्पनी लमिटेडका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार कृषिको २० हजार मेट्रिकटन डीएपी यति बेला भारतको विशाखापत्तनम् बन्दरगाहमा रहेको छ । ३० हजार मेट्रिकटन युरिया अबको १५ दिनमा चीनबाट कोलकाता आउने तयारीमा रहेको छ । यद्यपि यी दुवै मल नेपाल आउन भने अझै करीब महीनाभन्दा बढी लाग्न सक्ने उनले बताए ।

यसबाहेक साल्ट ट्रेडिङको २० हजार मेट्रिकटन युरिया कोलकातामा रोकिएको छ । यो मल तिहारसम्म नेपाल आउनेछ भने साल्टले ल्याउन थालेको १२ हजार मेट्रिकटन डीएपी नेपाल आउन अभैm करीब २५ दिन लाग्न सक्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले जानकारी दिए ।

धान रोपाइँका बेला ५० हजार मेट्रिकटन मलको ठेक्का पाएका २ कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले निर्धारित समयमा मल आयात नगर्दा सरकारले मलको अभाव टार्न बंगलादेश सरकारसँग गत भदौ १६ गते ५० हजार मेट्रिकटन युरिया मल सापटीमा ल्याउने सम्झौता गरेको थियो ।

धानबाली भित्र्याएर हिउँदेबाली रोप्ने समय भइसक्दासमेत सरकारले उक्त मल आयात गर्न सकेको छैन ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement