थानकोट–चित्लाङको साढे २२ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु

Advertisement

मकवानपुर । थाहा नगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ ।

अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौंतर्फको चन्द्रागिरि नगरपालिका–४ र ७ मा पर्ने थानकोटदेखि करीब चार किलोमिटर सडकको पहाडका ढुङ्गाहरु फोरी सडकलाई फराकिलो गर्ने कार्य भइरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष तथा वाग्मती प्रदेशसभाका सदस्य रमा आलेमगरले बताइन । 

Advertisement

उनले थानकोटदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर सडकलाई फराकिलो, ढल निर्माणका साथै ग्राभेलसमेत गर्ने गरी आगामी वर्षको वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन। 

उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले अहिले रु १३ करोड उपलब्ध गराएको र दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने भएको प्रदेशसभा सदस्य मगरले उल्लेख गरीन । 

यसैगरी, चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्नेतर्फ निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
केही हप्ताभित्रै कुन्छालदेखि चित्लाङसम्मको सडकखण्डमा हल्का सवारीसाधनहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि थानकोट–चित्लाङ गणेशमान सरोकार समितिले जनाएको छ । 

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि काठमाडौँका उपभोक्ताहरुलाई मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत अन्य सामग्रीहरु उपलब्ध गराउन प्रत्यक्ष लाभ पुग्ने भएको थाहानगरपालिकाका प्रमुख लवशेर विष्टले बताए। 

नेपाली काँग्रेस सरकारमा रहँदा थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याकको निर्माण गरी हल्का सवारीसाधन सञ्चालनमा ल्याएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिए । उक्त सडकको नेपाली काँग्रेसको सरकारले सर्वमान्य नेता गणेशमान सिंह मार्गको नामकरण गरिएको पनि उनले जानकारी दिए ।

Advertisement

Advertisement