एकजना सङ्क्रमित भेटिएपछि ४७ लाखको परीक्षण गरिँदै

काठमाडौँ । चीनको सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोनाभाइरसको परीक्षण गर्दैछ । काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन् ।

सङ्क्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ । तर ससानो सङ्ख्या सङ्क्रमण फैलिने क्रम जारी छ । सिन्जियाङ्गमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङ्गस्थित सरकारले प्रताडित गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन् ।

काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन । शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ूनियमित परीक्षणूका क्रममा ती महिला सङ्क्रमित रहेको फेला पारिएको हो । चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला पारिएको हो ।

त्यसपछि व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका हुन् । लक्षण नदेखिएका सङ्क्रमितहरूलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन ।

कोरोनाभाइरसबाट त्यहाँ हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । आइतवार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ र बाँकी रहेका मानिसहरूको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरूले बताएका छन् ।

यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो । एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोनाभाइरस देखिएको थियो । (-बीबीसी नेपालीबाट)