राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु, बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने

Advertisement

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले प्रशिक्षण शुरु गरेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहीबार अपराह्न २ बजे शुरु हुनेछ । 

प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ । 

Advertisement

नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुने एन्फाले जनाएको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   

Advertisement

Advertisement