दुई हप्ताभित्रको ‘क्लिन फिड’ पूर्ण कार्यान्वयन

Advertisement

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।

Advertisement

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माले जानकारी दिए । ‘

‘अहिले केही मुख्य च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले १५ दिनभित्र यसको पूर्ण कार्यान्वयन हुने अवस्था देखिन्छ’’, उहाँले भन्नुभयो । क्लिन फिडका कारण खासगरी निःशुल्क प्रसारण गर्न सकिने (फ्रि टु एयर) केही भारतीय समाचार तथा मनोरञ्जनात्मक च्यानल पूर्ण बन्द छन् ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement