दशैंपछि झन भारत पस्नेहरुको भीड बढ्यो, नाकामा व्यवस्थापन गर्न प्रहरीलाई मुस्किल

Advertisement

बाँके । गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका छन् । अवस्था कतिसम्म भयावह छ भने भारत जानेहरूलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई हम्मे परेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार शनिबार मात्रै एक हजार तीन सय ६० नेपाली भारततर्फ लागेका छन् । शुक्रबार सात सयभन्दा बढी गएको उनले बताए । ‘दसैँको टीका छाडेर फूलपाती, महाअष्टमी र नवमीका दिन पनि धेरै नेपाली भारततर्फ गए । दसैँ सकिएको भोलिपल्टदेखि त नाकामा थामिनसक्नु भिड लाग्न थालेको छ । भिड नियन्त्रणका लागि थप बल मगाउनुपर्ने अवस्था आइसक्यो,’ सइ गिरीले भने ।

Advertisement

खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् । लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूले सुनाउने गरेको गिरीले बताए ।

दसैँअघि भारतले आधार कार्ड भएकालाई मात्र नाकाबाट प्रवेश दिएको थियो । तर, अहिले भने आधार कार्ड नभएकालाई समेत प्रवेश गर्न दिइरहेको छ । जसले गर्दा नाकामा थामिनसक्नु भिड लागेको छ । ‘भारतीय पक्षले अनौपचारिक रूपमा नाका खुला गरिसक्यो । त्यसको असर हामीलाई परिरहेको छ,’ सइ गिरीले भने । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement