बीमा समितिले भन्योः 'कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै दिनु'

Advertisement

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गरिसक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीमा आलटाल भएपछि बीमा समितिलाई पत्र लेखेर सात दिन भित्र दावी भुक्तानी सल्टाउने व्यवस्था मिलाउन भनेको थियो । 

मन्त्रालयको पत्र अनुसार बीमा समितिले मंगलबार सबै बीमा कम्पनीहरुलाई सात दिनभित्रै दावी भुक्तानी गरिसक्न निर्देशन दिएको हो । समितिले आवश्यक कागजातसहित दावी गरेको सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बीमक संघका अध्यक्ष समेत रहेका शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कोरोना बीमाको दावी भुक्तानी एक साता भित्रै फर्स्योट गर्ने निर्णय कार्यान्वयनमा लैजाने बताए । सरकारको सहमतिमा बीमा समितिले तयार पारेको निर्देशिका अनुसार बीमा कम्पनीहरुले पोलिसी बिक्रि गरेको र त्यस वापतको दावी भुक्तानी गर्न आफुहरु तयार रहेको पनि उनले स्पष्ट पारे । 

यसैबीच आजै अर्थमन्त्रालयमा भएको बैठमा बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको थियो । 

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा  बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी  गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।  

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।  

बीमा समितिका अनुसार गत सातासम्म १३ हजार ३ सय ५३ वटा दाबी परेका छन्, जसमध्ये १ हजार ४ सय ४१ वटा दाबी मात्रै भुक्तानी भएको छ । कुल परेको दाबी करिब १ अर्ब २८ करोड रुपियाँ बराबर हो । बीमा कम्पनीले कुल १ लाख ८१ हजार ७ सय ९५ वटा बिमालेख बिक्री गरेका छन् । तीमार्फत १७ लाख ७० हजार ९ सय २६ जनाको कोरोना बिमा भएको छ । यसबाट कम्पनीहरूले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६ सय ८२ रुपियाँ संकलन गरेका छन् । 

तलका लिंक पनि क्लिक गर्नुहोस्ः 

बीमा समितिका अध्यक्षले पोलिसी खरिद गरी शुभारम्भ गरे ‘कोरोना बीमा’

३ सयमै ५० हजार रुपियाँको कोरोना बीमा गर्न बीमा समितिको निर्देशन

कोरोना बीमा सम्बन्धी पोलिसी हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisement

Advertisement