सर्लाहीको वाग्मती नगरपालिकामा २५ करोडको फनपार्क बन्ने

Advertisement

सर्लाही । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ ।  नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र नगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा निर्माण कार्य सम्पन्न गर्ने गरी रु १७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरप्रमुख भरतकुमार थापाले बताए ।

    वाग्मती नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गबाट दुई किलोमिटर उत्तर बुद्ध शान्ति तपोवन नजिक करिब ६७ रोपनी क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाइने नगरपालिकाका इञ्जिनीयर सागर पौडेलले बताए। फनपार्क निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी राजस्व सङ्कलन गर्ने महत्वपूर्ण आयोजनाका रुपमा यसलाई लिइएको नगरपालिकाले जनाएको छ ।  फनपार्कको पर्खाल निर्माणलगायत केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए । 

Advertisement

    चुरे पहाड, हरियो वनजङ्गल, पवित्र तीर्थस्थल नुनथर र वाग्मती नदी किनारमा निर्माण हुने फनपार्क पर्यटकीय हिसाबले प्रदेश नं २ कै नमूना हुने नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन । नगरको महत्वाकांक्षी योजनाका रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारिएको उनको भनाइ छ  । 

    निर्माणस्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायत कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको नगर प्रमुख थापाले बताए । नगरवासीलाई रोजगारी दिने,आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, नगरको अर्थोपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने हुँदा यसलाई नगरको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको उनकोे भनाइ छ । स्थानीय संस्कार, संस्कृति र रहनसहन पनि पार्कको आकर्षणको केन्द्र बन्ने नगर प्रमुख थापाको विश्वास छ । 

फन पार्कमा आकर्षक लाइटसहितको पिलर, विभिन्न ज्ञानवद्र्धक सामग्रीसहितको ‘वाल अफ नलेज’, अतिथिगृह, स्वीमिङ पुल, वनभोस्थल, बगैँचा, टेम्पो लाइट, पिङ, चिप्लेटीलगायत बालबालिकाका लागि खेल्ने विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालयलगायत भौतिक संरचना निर्माण गरिने छन् ।  २५ करोडको लागतमा फनपार्क निर्माण हुने भनिए पनि शुरुमा ९० प्रतिशत कामका लागि १७ करोडमा ठेक्का लागेको नगरपालिकाले जनाएको छ । रासस
 

Advertisement

Advertisement