दशैंपछि खाद्यान्नको मूल्य एक्कासी वृद्धि, तिहार मनाउन कठिन

Advertisement

काठमाडौं । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो ।

खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपियाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपियाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपियाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपियाँसम्म पर्न थालेको छ ।

Advertisement

त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपियाँ पुगेको छ । प्रतिकिलो ८० रुपियाँ पर्ने चिनी ९० रुपियाँसम्म पर्न थालेको छ । सनफ्लावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपियाँ पर्न थालेको छ । तोरीको तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भई २ सय ३० बाट २ सय ६० रुपियाँ पुगको छ । त्यसैगरी भटमासको तेलको मूल्य पनि करीब १४ प्रतिशतले वृद्धि हुँदै प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपियाँ पुगेको छ ।

नेपालमा दशैं, तिहार र छठपर्वजस्ता चाडपर्वका समयमा तेलको माग बढ्ने भएकाले पनि मूल्य वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । यद्यपि यति बेला मागमा खासै वृद्धि नभएको र आपूर्ति प्रणालीसमेत सहज रहेको कुरा व्यवसायीहरूले स्वीकार गरेका छन् । यस्तो अवस्थामा पनि मूल्य बढ्नुमा अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव रहेको दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement