३८ अर्ब ६८ करोडका तीन जलविद्युत परियोजनाको लगानी स्वीकृत

Advertisement

काठमाडौं । लगानी बोर्डले तीन वटा जलविद्युत परियोजनाको ३८ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ४५ औं बैठकले सार्वजनिक निजी साँझेदारीमा मोडलमा अघि बढाउने गरि तीन वटा जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको हो । 

जसमा ७७.५ मेगावाटको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँको लगानी स्वीकृत भएको छ । त्यस्तै, ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोेड ६० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो ।

त्यस बाहेक लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धिका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरि बोर्डको रणनितिक योजना तयार गर्नेबारे पनि बैठकमा छलफल भएको थियो ।  एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाउने तथा नलेज मेनेजमेन्ट पोर्टल(केएमपी)को स्थापना तथा उपयोग गर्नेबारे पनि छलफल भएको थियो । 

बैठकमा बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले परियोजनाहरुको कार्यान्वयनमा देखिएको ढिलाई हटाउन प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले अब कोरोना त्रासकै बीच पनि बोर्डको नियमित बैठक बस्ने पनि बताए । 

प्रधानमन्त्री ओलीले उर्जाको उत्पादनसँगै खपतको योजना बनाउन पनि काम थाल्नुपर्नेमा जोड दिएका थिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशिल भट्टले कोरोना महामारीकै बीचमा पनि बोर्डले काम गरिरहेको भन्दै विस्तृत विवरण पेश गरेका थिए । 
 

Advertisement

Advertisement

Advertisement