बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगहरु लयमा फर्किंदै

Advertisement

वीरगञ्ज । बन्दाबन्दी र निषेधाज्ञामा थलिएका बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगले गति समात्न थालेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको ४ महीने बन्दाबन्दी र लगत्तै करीब २ महीनाको निषेधाज्ञामा उत्पादन खुम्चिएका उद्योगले असोजयता उत्पादन बढाउँदै लगेका हुन् ।

असोजको शुरुआतमा निषेधाज्ञा हटेपछि बजारले गति लिएको र उत्पादनको माग बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन् । ‘करीब २ महीनायता कोरिडोरका उद्योगको उत्पादनमा सुधार आएको छ । बजार खुलेलगत्तै चाडपर्व पनि परेकाले माग र उत्पादन दुवै बढेको छ,’ केडियाले भने ।

Advertisement

एक समय कोरोना महामारीको केन्द्रबिन्दु बनेको बारा र पर्सा अहिले तुलनात्मक रूपमा सुरक्षित क्षेत्र बनेको छ । कोरिडोरका उद्योग प्रतिष्ठानसँगै समुदायमा कोरोना फैलिएपछि त्यसबेला स्थानीय प्रशासनले उद्योग सञ्चालनको मापदण्डमा कडाइ गरेको थियो । निषेधाज्ञा लगाएर उद्योगमा कडाइ गरेपछि उत्पादन प्रभावित भएको थियो । कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको थियो ।

अत्यावश्यकीय भनिएका खाद्यान्न र औषधिजस्ता उद्योगसमेत क्षमताको १५ देखि २० प्रतिशतमा खुम्चिएका थिए । चैत १० मा लगाएको बन्दाबन्दी सरकारले साउनको पहिलो साता हटाएको थियो । बन्दाबन्दी हटेसँगै बारा र पर्सामा लक्षणसहितका संक्रमित बढेर ज्यानै जान थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले कोरिडोरका औसत उद्योगले ७० देखि ८० प्रतिशतसम्म उत्पादन गरिरहेको उद्योगी सुरेश रूङ्गटाले बताए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement