शहरी विकास मन्त्रीलाई साइकलप्रेमीहरुको प्रश्न– खोई हाम्रो लेन ?

Advertisement

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने बताएका छन् । नेपाल साइकल सोसाइटीको अनुरोधपत्र बुझ्दै उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन पनि दिए । 

शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भइरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् । श्रेष्ठले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारे । उनले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने भन्दै साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिए । 

Advertisement

नेपाल साइकल सोसाइटीको १० बुदे अनुरोधपत्र बुझ्दै श्रेष्ठले भने, ‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ । ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु ।’ 

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाइने बताए । उनले भने, ‘पोखरा, भरतपुर, काठमाडौ, विराटनगर, जनकपुरलगायत ठूला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यसबाहेक हाल निर्माणाधिन सडकमा साइकल लेन हुनैपर्छ ।’ केही शहरमा बाटोको कारण साइकल लेन बनाउन समस्या भएको बताउँदै सिंहले अब नयाँ बन्ने सबै सहरमा साइकल लेन बन्ने बताए । 

सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो पोखे । सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउनुपर्ने भन्दै उनले भने– नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भई कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गीकरण गर्नुपर्छ ।

श्रेष्ठले सडक करिडोर, रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै भने, ‘साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्छ ।’ 

सोसाइटीले विभिन्न माहानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्टेण्ड निर्माणसहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ । 

सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांश देशका सडकमा साइकल लेन निर्माण भएको स्मारण गराए । सोही अवसरमा सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमी एवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्न आग्रह गरेको थियो । मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र साइकल प्रेमी श्याम श्रेष्ठको सम्झनामा बल्खुमा पार्क बनाउने विषयमा पहल गर्ने बताए । 
 

Advertisement

Advertisement