नेपाल टेलिकमको नाफा ४०.५५ प्रतिशतले घट्यो, यसो भन्छन् एमडी

Advertisement

काठमाडौं । नेपाल टेलिकमको नाफामा कोरोनाले ग्रहण लगाईदिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको नाफा एक अर्ब ३ करोड रुपैयाँ अर्थात ४०.५५ प्रतिशतले घटेको छ ।  २०७६ असोज मसान्त अवधीमा दुई अर्ब ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको नाफा २०७७ असोज मसान्तमा आईपुग्दा एक अर्ब ५१ करोड रुपैयाँमा खुम्चिएको हो । प्रति सेयर आम्दानी पनि ६७.९१ रुपैयाँबाट घटेर ४०.४७ रुपैयाँमा सिमित भएको छ । टेलिकमको नेटवर्थ ६९१.७६ रुपैयाँबाट घटेर ६३१.०४ रुपैयाँमा खुम्चिएको छ । 

टेलिकमको सञ्चालन आम्दानी पनि ४० करोड रुपैयाँले घटेको छ । २०७६ असोज मसान्तसम्ममा १० अर्ब ६० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले २०७७ असोज मसान्तमा जम्मा १० अर्ब १० करोड मात्रै गरेको छ ।  १५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेष कोषमा ७९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

किन घट्यो नाफा ?
नेपाल टेलिकमका प्रबन्ध  निर्देशक डिल्लीराम अधिकारीले नाफा घट्नुका चार कारण देखाए । डलरमा आएको उतार चढावले टेलिकमलाई कबिर ५० करोड रुपैयाँको भार थपिदियो । यसपाली कर्मचारीहरुको खर्च पनि केहि बढेको उनले बताए । स्थानीय प्रशासनहरुले देशका अधिकांश भूभागमा भदौ महिनामा गरेको निषेधाज्ञाले पनि टेलिकमको आम्दानी घटाएको उनले जानकारी दिए । निषेधाज्ञाका कारण रोमिङ र अन्तराष्ट्रिय कल वापतको आम्दानीमा पनि असर गरेको अधिकारी बताउँछन् । 

त्यस्तै, यहिबीचमा बैंकहरुको ब्याजदर पनि घट्यो । टेलिकमको ठूलो रकम बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेपका रुपमा रहेको छ । ब्याजदर घटेपछि कम्पनीको आम्दानीमा स्वतः त्यसको प्रभाव परेको उनी बताउँछन् । ‘अघिल्लो आर्थिक वर्षको सोही अवधीको आम्दानीसँग यसपालीको आम्दानीलाई तुलना गर्नै मिल्दैन्, तै पनि हाम्रो सञ्चालन आम्दानी १० करोडले मात्रै घटेको छ’, टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने । 

लकडाउन तथा निषेधाज्ञा अवधीमा टेलिकममा उपभोक्ताले धेरै सहुलियत प्याकेजहरुको उपलब्ध गराएको र नाफामा त्यसले पारेको असरको अध्ययन भैरहेको पनि उनले जानकारी दिए । अब निषेधाज्ञा र लकडाउनको सम्भावना नरहेकोले आर्थिक वर्षको अन्त्यसम्ममा टेलिकमको आम्दानी पहिलोको भन्दा राम्रो हुने पनि उनले दावी गरे ।
 

Advertisement

Advertisement

Advertisement