सुनचाँदीमा देखिएन कोरोनाको असर, तिहारमा ५० प्रतिशतले बढ्यो कारोबार

Advertisement

काठमाडौं । तिहारमा सुनचाँदीको कारोबार ५० प्रतिशतले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वर्षको तिहारमा भएको सुनचाँदीको कारोबार अहिलेसम्मकै सबैभन्दा बढी हो ।

महासंघले देशभरबाट लिएको तथ्यांकमा तिहारको अवधिमा पोहोरको तुलनामा ५० प्रतिशत बढी सुनचाँदीको कारोबार भएको हो । कोरोना महामारीको असरस्वरुपमा सुनचाँदीको कारोबार कम हुने अनुमान गरिएको थियो । महासंघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार अनुमानविपरित यो वर्षको तिहारमा सुनचाँदीको कारोबारले ऐतिहासिक रेकर्ड बनाएको छ ।

Advertisement

‘सुनचाँदीको मुख्य कारोबार हुने दिन धनत्रयोदशीमा मात्रै ८ सय किलो चाँदी मात्रै कारोबार भएको अनुमान छ ’,महासंघका निर्वतमान अध्यक्ष शाक्यले भने,’ सुनको यकिन तथ्यांक आउन बाँकी छ ।’ लक्ष्मीपुजाको अघिल्लो दिन धनत्रयोदशीमा सुनचाँदीको कारोबार सबै भन्दा बढी हुने गरेको छ ।  

लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो हुने जनविश्वास छ । धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।  यही जनविश्वासका कारण सुनचाँदीको कारोबार बढी हुने गर्छ ।
महासंघका पूर्व अध्यक्ष शाक्यले अघिल्लो वर्षको तुलनामा यो वर्ष सुनको कारोबार ५० प्रतिशतले बढेको बताए । अघिल्लो तिहारमा दैनिक २० किलो सुनको कारोबार हुन्थ्यो। यो वर्ष दैनिक ५० किलो सुनको कारोबार भएको उनले बताए।

२०७२ सालको विनाशकारी भुकम्पका कारण सुनको कारोबार कम भएको थियो । संकटमा सुनमा कम लगानी हुने देखिएकाले कोरोना महामारीमा पनि सुनको कारोबारमा कमी आउने अनुमान गरिएको थियो । उनले भने, ’दसैंताका बजारमा गरगहनाको मोह देखिएको थिएन । तर तिहारमा ह्वात्तै कारोबार बढेको छ । ’ अघिल्लो वर्षको तिहारमा चाँदीको कारोबार एक हजार पाँच सय देखि दुई हजारसम्म पुग्ने गरेको महासंघले जनायो । 

तर, यसपाली तिहारमा झन्डै तीन हजार किलो चाँदीको कारोबार भएको छ ।  तिहारको समयमा सुनको मूल्य घटेकोले समेत कारोबार बढेको शाक्यले बताए । तिहारको समयमा सुनको मूल्य प्रतितोला तीन हजारले घटेको थियो । ’भाउले पनि सुनको कारोबारलाई प्रभावित पार्छ’ ,उनले भने, तिहारका बेलामा मूल्य घटेकोले सुनको कारोबार पनि बढेको हो ।’

Advertisement

Advertisement