म कम बोल्ने, धेरै काम गर्ने मान्छे होः सौरभ

Advertisement

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, वित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक उनले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनुपर्ने धारणा राख्दै आएका छन् । 

यसकारण एसोसिएटतर्फको उपाध्यक्षमा मेरो उम्मेदवारी
सौरभले आफ्नो पहिलो कार्यकालमै एसोसिएट उपाध्यक्ष हुने इच्छा देखाएका थिए । तर, विभिन्न परिस्थिति र टिमको भावनाका लागि भन्दै त्यतिबेला उक्त पद छाडेका उनले अहिले भने उम्मेदवारी प्रस्तुत गरेका छन् । 

Advertisement

टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने सौरभको मान्यता छ । महासंघको उपाध्यक्ष भएपछि परिणाम देखिने गरी कामगर्ने सोच बनाएका उनी समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै आएका छन् । ‘व्यापार व्यवसायको विकास र निजी क्षेत्रको हकहित तथा अधिकार रक्षाका लागि मैले काम गर्ने हो’, सौरभ भन्छन् । 

उनी थप्छन्, ‘व्यवसायीहरु समृद्ध हुँदा ठूला व्यवसायको मात्र होइन समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्छ । समग्र आर्थिक विकासको शुत्र पनि यही नै हो, सीमित व्यक्तिले मात्रै प्रगति गरेर देशको आर्थिक विकास हुँदैन् । त्यसैले महासंघ साझा समृद्धि र समावेशी विकासमा लाग्नुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।’

नेपाल उद्योग बाणिज्य महासंघको इतिहास छ । महासंघ निजी क्षेत्रको छाता संस्था हो जसको सञ्जाल कुनै क्षेत्रमा सरकारको भन्दा पनि बढी छ । यति ठूलो सञ्जाल भएको संस्थाले चाहेमा धेरै काम गर्नसक्ने सौरभको विश्लेषण छ । त्यसैले महासंघले वस्तुनिष्ठ एजेण्डाहरुका साथ काम गर्नुपर्ने उनी बताउँछन् । 

महासंघमा विज्ञसहितको प्रोफेसनल सचिवालय जरुरी रहेको सौरभ बताउँछन् र उनका अनुसार महासंघको अबको ध्यान रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ । अर्थतन्त्र जोगाउने हुनुपर्छ । मुलुकको आर्थिक संवृद्धि र सदस्यहरुको हकहितका मुद्दाबाट महासंघ अलि बाहिर गइरहेको उनको अनुभूति छ । सौरभ भन्छन्, ‘अहिलेको मुद्दा नै राजनीति हुन्छ, को कुर्चीमा आउने ? कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त आन्तरिक राजनीतिकै हुन्छ । यो एकदम गलत छ ।’

महासंघ सचिवालय पनि तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले रुपान्तरण गर्नुपर्ने उनको दृष्टिकोण छ । यसका लागि पनि आफूहरुले टीमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको सौरभले बताए । 

उनले भने, ‘अर्थतन्त्र कसरी जोगाउने ? भन्ने कुरा गर्दा खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक रिकभरिमा लाग्नुपर्ने टडकारो आवश्यता छ । अर्थतन्त्र धरासायी अवस्थामा छ । विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन् । उनीहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने ? दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने, थिंक ट्यांकमा कसरी अघि बढ्ने ? यस्ता विषय मेरो प्राथमिकतामा पर्नेछन् ।’

सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगतरुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकाले त्यो दिशामा जाने बाटो पनि निजी क्षेत्रले नै बनाउनुपर्ने सौरभको तर्क छ । उनी भन्छन्, ‘प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो, व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु रहेको नै भएकाले हामीले महासंघमा परिवर्तन चाहेका छौं ।”

सौरभका अनुसार व्यवसायीको नेता भएँ भन्दैमा सबैले नमस्कार गरे भन्दैमा धाक देखाउने त होइन नि ?ं अध्यक्ष , उपाध्यक्ष, सबैले व्यवसायी साथीहरुको सेवामा लाग्ने हो भने धेरै काम त आफैं सम्पन्न हुन्छन् । त्यो नै वास्तविक नेतृत्व हो । र अहिले यसको खाँचो परेको छ । 
साथीहरुलाई परेको समस्या र अफ्ठ्यारोको एजेण्डा बोकेर आगाडि बढ्ने र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले आफू र आफ्नो टिम अघि बढिरहेको उनको भनाई छ । मतदाताले पनि यो विषय राम्रोसँग बुझेकोले आफूहरु सशक्त रुपमा अघि बढिरहेको सौरभले बताए । 

हाल एशोसिएट्सतर्फ ९२७ जना मतदाता रहेका छन् । ती सबै मतदाताहरु उद्योग, व्यवसायका प्रमुखहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्ति भएकाले पनि आफ्नो चुनाव जित्ने रणनीति धेरै सरल रहेको उनको बुझाई छ । 

सौरभ भन्छन्, ‘नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो भन्ने मेरो धारणा हो । त्यसै पनि म कम बोल्ने मान्छे हो । काम कति गरेको छु भन्ने त साथीहरुले बिचार गर्नु भएको छ । अरु काम नेतृत्वमा पुगेर गर्न सहज होला भनेर यस पटक अघि सरेको छु ।’

Advertisement

Advertisement