विकल्प नभएपछि खुल्लामञ्चमा नै गरिवलाई खाना खुवाउने क्रम जारी

Advertisement

काठमाडौं । तिहारपछि आफूले विकल्प दिने भन्दै काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा विपन्न तथा गरिवहरुलाई खाना प्रतिवद्धता जनाएपछि विकल्प दिन नसकेपछि मंगलबार खाना खुवाउने क्रम जारी रह्यो । 

काठमाडौं महानगरपालिकाले मंसिर २ गतेदेखि खुल्लामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न स्वयमसेवक संस्थाहरुसँग सहमति जनाएको थियो । सहमतिअनुसार महानगरपालिकाले विकल्प दिन नसकेपछि बाध्य भएर खाना खुवाउनु परेको हाम्रो टिम नेपालले जानकारी दिएको छ । 

Advertisement

कोरोना भाइरस (कोभिड १९) संक्रमण र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण आयस्रोत गुमाएका तथा गाउँ फर्किने विकल्पसमेत नभएका न्यून आयस्तरका मानिसहरुलाई विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुले खुल्ला मञ्चमा खाना खुवाएर जीवन धान्ने माग गर्दै आएका छन् । 

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु आज पनि लामबद्ध भएर बसेपछि बाध्य भएर खाना खुवाउनु परेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताएका छन् । 

उनका अनुसार, खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउनुपर्ने बाध्यता भएको हो । उनीहरुलाई प्याकेटमा खाना खुवाउने योजना बनाइएको थियो । तर मानिसहरु यसअघि जसरीले खाना खान पाइने आशामा आमवद्ध भएर बसेपछि स्वयमसेवकहरुले खाना बितरण गर्न बाध्य भएका थिए । 

आफूहरुको आम्दानीको स्रोत गुमेको अवस्थामा खुल्लामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै खाना खान आउने मानिसहरूले सरकारप्रति आक्रोस पोखेका थिए । उनीहरुले कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । 

आम्दानीको कुनै विकल्प नभएपछि खुल्लामञ्चमा मनकारीहरुबाट बितरण भएको खाना खाएर पेट पाल्दै आएकाहरुलाई उक्त खानामा खान खान नदिने काठमाडौं महानगरपालिकाले प्रयास गरेपछि चौतर्फी त्यसको विरोध भएको थियो । सडकमा बसेर खाना खान कसैको पनि रहर नहुने भन्दै राज्य आफैले आफ्ना नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्नेमा उल्टै नागरिकस्तरबाट भएका सामाजिक कार्यलाई रोक्न खोज्नु निरंकुश प्रवृत्ति भएको बताएका थिए । 

हाम्रो टिम नेपालले लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेकाहरूलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ । 

तर, काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा गरिवलाई खाना खुवाउँदा काठमाडौं माग्नेहरुको शहर भनेर बाहिर चिनिने भन्दै उक्त ठाउँमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको थियो । वैकल्पिक ठाउँमा खाना खुवाउने भए आफूले पनि सहयोग गर्ने काठमाडौं महानगरपालिकाले बताएको थियो । 

Advertisement

Advertisement