कोरोनाका कारण विदेशबाट फर्किएकालाई रोजगारी दिने कुरा गफ मात्रै

Advertisement

काठमाडौं । महामारीमा ज्यान जोगाउन भन्दै विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारी दिने दाबी गरेको सरकारले उनीहरूको यकिन तथ्यांक अझै पनि संकलन गर्न नसकेको पाइएको छ ।

गत माघ चीनको वुहानमा कोरोना देखिएपछि नेपालीहरू फर्किने क्रम शुरू भए पनि सरकारसँग कोभिडका कारण ठ्याक्कै कति नेपाली फर्किए त्यसको यकिन तथ्यांक छैन ।

Advertisement

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशबाट फर्किएकाहरूको तथ्यांक यकिन नहुँदा बेरोजगार बन्न पुगेकाहरूलाई रोजगारी दिन सकिएको छैन ।

श्रममन्त्री रामेश्वर राय यादवले यकिन तथ्यांकको अभावमा बेरोजगार बनेकाहरूलाई रोजगारी दिन नसकिएको स्वीकारेका छन् ।

उनका अनुसार महामारीका बेला विदेशबाट फर्किएकाको तथ्यांक संकलनको काम बल्ल थालिएको छ ।

‘कतिले रोजगारी गुमाएर विदेशबाट फर्किए, कति बेरोजार बन्न पुगे त्यसको तथ्यांक छैन । स्थानीय तहमार्पmत अब तथ्यांक संकलन गरेर स्वदेशमै रोजगारीका अवसर खोजिदिनेछौं,’ मन्त्री यादवले अभियानसँग भने ।

सरकारले महामारीमा अलपत्र परेकाहरूको विमान चार्टर गरेरै उद्धारसमेत गरेको थियो तर यकिन तथ्यांक सो बेला नराखेको मन्त्री यादवको दाबी छ ।

सरकारले रोजगारी दिन नसकेकाले महामारीकै बीच विदेशिने क्रम बढेपछि सरकारको चर्को आलोचनासमेत हुँदै आएको छ ।

आर्थिक अभियान दैनिकबाट । 

Advertisement

Advertisement