बाणिज्य बैंकहरुको नाफा घट्दा जीवन बीमा कम्पनीहरुको नाफा भने दोहोरो अंकले वृद्धि

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७–७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा जीवन बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको बीमा कम्पनीहरू बताउँछन् ।

Advertisement

गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । तर, चालू आवमा त्योभन्दा २४ करोड ६७ लाख बढी अर्थात् रू. १ अर्ब २६ करोड २७ लाख खुद नाफा कमाएका छन् । कम्पनीहरूको बीमांकीय मूल्यांकन भएपछि नाफा थप बढ्ने छ । बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा पठाउन सक्ने व्यवस्था छ । त्यसैले बीमांकीय मूल्यांकनपछि नाफा थप बढ्ने कम्पनीहरूको भनाइ छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement