बीमा समितिको अध्यक्ष बन्न आधा दर्जनको दौडधुप, कसको कहाँ कनेक्सन ?

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल पुस १४ गते सकिँदैछ । उनी पुनः अर्काे कार्यकाल अध्यक्ष बन्ने दौडधुपमा छन् । प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला उनी अध्यक्ष बनेका थिए । प्रचण्डले भनेको लागेमा उनी पुनः अध्यक्ष बन्न सक्नेछन् । 

चापागईँसँगै समितिको अध्यक्ष बन्ने दौडमा अरु पाँच जना हस्तीहरु पनि देखा परेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कृषि  विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद आचार्य पनि बीमा समितिको अध्यक्ष बन्न लबिङ गरिरहेका छन् । 

प्रधानमन्त्री ओली निकट मानिएका चिन्तामणी शिवाकोटीलाई गभर्नर बनाउन नसकिएको क्षतिपूर्ति स्वरुप समितिको अध्यक्ष पद हात लाग्न सक्ने अनुमान गरिएको छ । 
उता, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पनि बीमा समिति अध्यक्ष बन्नका लागि शितल निवासमा पहुँच बढाएको बताइन्छ । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कँडेल भने राष्ट्रपति विद्या भण्डारीको नाता पहिल्याएर समिति अध्यक्ष बन्ने दाउमा छन् । 

नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँले भने पर्यटन मन्त्री योगेश भट्टराईको फेरो समातेका छन् । सञ्चय कोषका पूर्व प्रशासक आचार्य पनि नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल मार्फत लबिङ गरिरहेका छन् । पूर्व उद्योग मन्त्री तथा नेकपाका नेता सोम प्रसाद पाण्डेका नातेदार समेत रहेका उनी माधव नेपाल निकट मानिन्छन् । आचार्यलाई निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले पनि रुचाउँथे । 

२० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरुको नियमन गर्ने समितिको अध्यक्ष पदलाई नेपाल राष्ट्र बैंकको गभर्नर र धितोपत्र बोर्डको अध्यक्षपछिको महत्वपूर्ण मानिन्छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । 

Advertisement

Advertisement

Advertisement