तीनसय रुपियाँको मेशिन किनेर सुरु भएको व्यवसायिक यात्रा तीन हजारलाई रोजगारी दिने स्थितिमा

काठमाडौं । ‘सबैले सपना देख्नुस् र सपना मुताविक मेहनत गर्नुस्, सफलता आफैं पछ्याउँदै आउँछ । आफ्ना सपना (योजना)हरुबारे ज्ञान हासिल गर्नुस् । सपनामा यसरी डुब्नुस् की सुत्दा, उठ्दा, हिड्दा, खाँदा, बस्दा, बोल्दा  पनि सपनाकै कुरा गर्नुस् । त्यसपछि सफलता पक्का छ ।’

यो भनाई हो उद्यमी व्यवसायी अञ्जन श्रेष्ठको । उनी यतिबेला निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगत समूहतर्फ उपाध्यक्षको उम्मेदवार छन् । 

फगत सपना देख्ने मात्रै होइन, त्यसमा डुब्नेले मात्रै सफलता पाउँछ भन्ने अञ्जन श्रेष्ठको लक्ष्मी ग्रुपले पनि त्यसरीले नै सफलता प्राप्त गरेको अन्जनको अनुभव छ । 
उनी तीन वर्षको हुँदा २०३० साल पुस ५ गते तीन ३ सय रुपियाँको मेसिन किनेर लक्ष्मी ग्रुपको स्थापना भएको थियो । अहिले त्यही ३ सयको लगानीबाट विस्तार लक्ष्मी ग्रुपमा ३ हजार जनाले त प्रत्यक्ष रोजगारी नै पाईरहेका छन् । 

यतिबेला नेपालको औद्योगिक विकासमा लक्ष्मी ग्रुपको छुट्टै पहिचान स्थापित छ । त्यो पहिचानको एक हिस्सेदार हुन अन्जन श्रेष्ठ । कन्फेक्सनरीबाट सुरु भएको लक्ष्मी ग्रुपको व्यवसायिक यात्रामा यतिबेला समृद्धि स्टिल, डेरी उद्योग, प्याकेजिङ उद्योग जोडिईसकेको छ । र निकट भविष्यमै पर्यटन र खाद्यान्नको व्यवसाय पनि थपिँदैछ । 

आफ्नो व्यवसायीक यात्रालाई अन्जन ‘नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणको अभियान’ मान्छन् । 
चार दाजुभाईमध्ये माइलो सन्तानका रुपमा जन्मिएका उनीले यतिबेला लक्ष्मी ग्रुपमा विशेषगरी पूर्वाधार क्षेत्रको व्यवसाय हेर्छन् । ‘समृद्धि स्टिल मेरो नेतृत्वमा छ । एक वर्षदेखि उत्पादन बजारमा आईसकेको छ । उर्जाका दुई परियोजना सोलुखुम्बु र गोरखामा छनौट भएका छन् । सिमेन्ट उद्योगका लागि खानी लिईसकेका छौं, उद्योग दर्ता गरिरहेका छौं’, अन्जनले भने ।  

शंकरदेव क्याम्पसबाट बीकमसम्मको अध्ययन गरेका उनीका २२ र २५ वर्षका दुई छोरा छन् । दुवै अध्ययन सकेर व्यवसायीक विरासत सम्हाल्न तयार छन् । ‘हामी सबै दाजुभाई संगोलमै छौं, मेरा दुई छोरामध्ये एउटाले व्यवसायीक यात्रा नै आरम्भ गरिसकेको छ’, अन्जनले सुनाए । 

उनले क्याम्पस अध्ययन गर्दा काठमाडौंमा पोखराको उद्योगको सम्पर्क कार्यालय स्थापना गरेर व्यवसायीक यात्रा थालेका थिए । त्यसको दुई तीन वर्षमै आफ्नै अगुवाईमा जया पोलिथिन नामको प्लास्टिकको प्याकेजिङ उद्योग स्थापना गर्न सफल भए ।
लक्ष्मी ग्रुपको पोखरा, नवलपरासी र काठमाडौंमा व्यवसायीक सञ्जाल विस्तारित छ । 

महासंघको यात्रा
अन्जन महासंघमा लागेको १६ वर्ष भयो । पछिल्लो १२ वर्षदेखि महासंघको कार्यसमितिमै बसेर व्यवसायीका हक अधिकार र लगानीको वातावरण बनाउन तल्लिन छन् । 

उनी भन्छन्, ‘म वस्तुगत समूहतर्फबाट उपाध्यक्षको उम्मेदवार बनेको छु । १६ वर्षदेखिको मेरो सक्रियता र १२ वर्षदेखि महासंघमा गरेको योगदान प्रष्ट छ । हामी सामुहिकतामा विश्वास गर्छौ । व्यक्तिवादी चरित्रको विपक्षमा थियौं र छौं ।’ महासंघलाई संस्थागत रुपमा चलाउनुपर्छ भन्नेहरु यसपाली एक ठाउँमा उभिएको अन्जनको भनाई छ । 

महासंघको बार्गेनिङ पावर
राजनीतिक परिवर्तनहरुसँगै समाज र सरकारले उद्यमी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको अन्जनको अनुभव छ । अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको छ । नयाँ संविधानले नै पनि सरकारलाई अभिभावकका रुपमा अघि सारेको छ । खुला बजार अर्थतन्त्रलाई आत्मसाथ गरेको छ । त्यसकारण पनि अब निजी क्षेत्रलाई नजर अन्दाज गर्नै नसक्ने परिस्थिति बनिसकेको उनको विश्लेषण छ । ‘अब महासंघलाई साथै लिएर, विश्वास जितेर नै सरकारहरु अघि बढ्नुपर्ने ठाउँमा आईसकेका छन्’, उनी भन्छन् ।  

आवद्धता र सञ्जालका हिसाबले महासंघ नै सरकार पछिको सशक्त संगठन हो । क्रियशिल अन्य चेम्बर अर्गनाइजेशनहरुसँग कार्यगत एकता गरेरै अघि बढ्ने सोच अन्जनको छ । उनी भन्छन्, ‘व्यवसायीक वातावरण र लगानी सुरक्षाका लागि सबै संस्थाहरुसँग सहकार्य अघि बढाइनेछ ।’

वस्तुगत समूहबारे
महासंघ भित्र वस्तुगत समूहले अविभावकत्व नपाएको गुनासो यथाकदा सुनिने गरेको । तर अब नेतृत्वमा आउँने परिस्थिति बन्दै गएको अन्जन बताउँछन् । ‘हामी सहभागीतामूलक सक्रिय महासंघको पक्षमा छौं । सबै उद्यमी व्यवसायीहरुले महासंघमा अपनत्व महशुस गर्नेछन्’, उनले सुनाए ।  

नयाँ संविधान र स्थिर सरकारपछि
नयाँ संविधान र स्थिर सरकारपछि लगानीको वातावरणमा उल्लेख्य सुधार हुने अपेक्षा थियो । तर, त्यस्तो सुधारको महशुस अझै गर्न नसकिएको अन्जन श्रेष्ठले दुखेसो पोखे ।

तीस वर्षको अनुभवले यसो भन्छ
अन्जन भन्छन्, ‘मैले २०४६ सालपछिका हरेक परिवर्तन हेरेको छु । सबैमा म आफैं सहभागी पनि भएको छु । २०४६ सालमा सडकमा आन्दोलन गर्न मै पनि पुगेको थिएँ । त्यसपछि द्धन्द्ध भयो, आन्दोलन भयो, गणतन्त्र आयो, र अन्तिममा नयाँ संविधान जारीपछिको निर्वाचनले तीन तहको सरकार दियो । नेपालमा चार वटा राजनीतिक परिवर्तनमध्ये तीनवटाको मै साक्षी छु ।’ तर पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा भने खासै ठूलो परिवर्तन नआएको उनी बताउँछन् । 

करदातालाई सम्मान खोई ?
करदातालाई सम्मान गर्ने दिन कहिले आउँछ ? भनेर उद्यमी व्यवसायी समुदाय व्याग्र प्रतिक्षामा रहेको छ ।  ‘विदेशमा करदातालाई सम्मान गरिन्छ, नेपालमा पनि गर्नुपर्छ भनेर हामी अभियान चलाईरहेका छौं’, उनी भन्छन् ।   
दुई अंकको आर्थिक वृद्धिदर 
गत वर्ष अर्थतन्त्र २ प्रतिशत खुम्चियो । यसपटक ऋणात्मक हुने हो की ? भन्ने त्रास छ । कोरोनाकालपछि अर्थतन्त्रलाई दुई अंकको वृद्धिदरमा पुर्याउने योजना अहिले अन्जन श्रेष्ठको समूहले बनाईरहेको छ  । ‘त्यसको नेतृत्व गर्ने निजी क्षेत्रले नै हो, महासंघले नै हो’, उनी थप्छन् । 

आफ्नैबारे
नेपालको चेम्बर आन्दोलनमा आफ्नो पनि केही योगदान रहेको अन्जनको भनाई छ । उनी भन्छन्, ‘अब पनि मेरो मुल ध्येय भनेको लगानीको वातावरण निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु नै हुनेछ । हामीले चेम्बर एक्ट (चेम्बर कानुन)को मागलाई घनीभूत ढंगले अघि सार्छौ । चेम्बर एक्टको माध्यमबाट व्यवसायिक वातावरण बनाउन मेरो भूमिका रहन्छ ।’  

तीन तहका सरकारबारे
आम व्यवसायीहरुले व्यवसायिक लागत नबढ्ने बाताबरण खोजिरहेका छन् । त्यो कुराको सुनिश्चितता संबिधान आउँदा नै आफूहरुले खोजेको अन्जनले सुनाए । ‘तीन तहको सरकार आएपछि सुरु सुरुमा व्यवसायीक लागत बढेको थियो । तर अहिले भने केही सहज भएको छ । स्थानीय तहहरुले पनि कुरा बुझ्न थालेका छन् । अप्रत्यक्ष कर लगाउने कुरा अझै पनि केही देखिएका छन् । अब त्यसको पनि अन्त्य हुनुपर्छ’, उनले भने ।  

आर्थिक कुटनीति
नेपाल चीन र भारतको बीचमा छ । दुई देशबीच हुनुका चुनौती र अवसर दुवै छन् । अवसरका रुपमा उपयोग गर्न सरकारले आर्थिक कुटनीतिलाई सशक्त बनाउनुपर्ने अन्जनको विश्लेषण छ । अन्तरदेशीय व्यापारमा सरकारकै भूमिका निर्णायक हुने भएकाले यसमा सरकारले भूमिका खेल्नुपर्ने उनको भनाई छ । भारतले अघि सारेका दुई वटा आर्थिक कुटनीतिका उदाहरण पनि अन्जनले दिए । उनका अनुसार हार्ली डेभिडसनले भारतमा प्लान्ट लगाउन खोजेको थियो । भारतले आफ्नो आँप अमेरिका निर्यात गर्न पाउनुपर्ने सर्त राख्यो । अमेरिकाले त्यो सर्त स्वीकार गर्यो । र भारतमा हार्ली डेभिडसनको प्लान्ट पनि लाग्यो र भारतको आँप अमेरिका जाने बाटो पनि खुल्यो । यसलाई म्याङगो ट्रिटी भनिने गरेको छ । 

त्यस्तै, भारतमा युरोपियन मुलुकका अटोमोबाइल कम्पनीहरुले प्लान्ट लगाउने इच्छा देखाएका थिए । भारतले आफ्ना मसलाहरु युरोपमा निर्यात गर्न पाउनुपर्ने सर्त राख्यो । युरोपियन युनियनले त्यो सर्त स्वीकार गर्यो । अन्ततः भारतमा युरोपका अटोमोबाइल कम्पनीका प्लान्ट आए भने भारतीय मसलाले युरोपियन बजारमा सहज पहुँच पायो । यसलाई स्पाइस ट्रिटी भनिने गरेको छ । 

नेपाल सरकारले पनि यस्तै कुटनीतिलाई अख्तियार गरेर हाम्रा उत्पादन भारत र चीनमा सहज निर्यातको वातावरण बनाउनुपर्ने अन्जनको तर्क छ । महासंघले भने भारतको फिक्की, सिआईआई, चीनको चाइना चेम्बर अफ कमर्शसँग सहकार्य गरेर बजार खोज्ने काम गर्ने उनले बताए । 

चुनावी तयारी
१६ वर्षदेखि महासंघसँगको आवद्धता, १२ वर्षदेखि कार्य समितिमा बसेर गरेको योगदान नै आफ्नो जीतको आधार भएको अन्जन श्रेष्ठ बताउँछन् । ‘कुशकुमार जोशी उद्योग समिति सभापति हुँदा उहाँले ब्राण्ड प्रोटेक्सन ग्रुप बनाउनु भएको थियो, त्यसमा सहसंयोजक हुँदै संयोजक भएँ । नौ वर्षसम्म मैले रोजगारदाता परिषदको सदस्य भएर काम गरेँ । त्यतिबेला नेपालमा ट्रेड युनियनको दादागिरी नै थियो । युनियनको दादागिरी घटाउन मैले ठूलो भूमिका निर्वाह गरेको थिएँ । सामाजिक सुरक्षा कोष ऐनमा पनि मेरो योगदान छ’, उनले अनुभव सुनाए । 

त्यति मात्रै नभएर, राजश्व समितिको सहसंयोजक, उद्योग समितिको सभापति भएर औद्योगिक व्यवसाय ऐन र औद्योगिक नीतिमा पनि भूमिका खेलेको पनि उनले सम्झिए । नेपालमा भित्रिने वस्तुहरुमा नेपाल गुणस्तर बराबरको गुणस्तर हुनैपर्छ भनेर आफूले लबिङ गरेको पनि अन्जनले बताए । 

‘लगानी सुरक्षा गर्ने र लगानीको वातावरण बनाउने नै मेरो मुल एजेण्डा हो । भावी पुस्ताका लागि पनि नेपाल लगानीको उर्वर भूमिका रुपमा स्थापित गर्न हामी लागिपरेका छौं’, उनले भने । अन्जन आफ्नो जीतप्रति निश्चिन्त देखिन्छन् । उनी भन्छन्, ‘सम्भावित परिणामलाई लिएर उत्साहित छु । वस्तुगत समूहका अध्यक्षज्यूहरुले तपाई आउनुपर्छ भन्नु भएको छ । एक वर्षदेखि चुनावी अभियानमा छौं । हाम्रो टिम नै अनुभवी र युवाहरुको समिश्रणबाट बनेको छ ।’

उनले थपे, ‘सबल, सुदृढ र सफल निजी क्षेत्र बनाउने हाम्रो अभियान हो । अहिलेसम्म गरेका काम र भोलीका दिनमा गर्न सक्ने कामका लागि थप विश्वस गरिदिनुस् ।’