यस्तो रहेछ चितवनमा सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहारको वास्तविकता

Advertisement

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे केहि दिनदेखि गृह जिल्ला चितवनमा थिए । शनिबार उनको आफ्नै निर्वाचन क्षेत्र रहेको राप्ती नगरपालिकाको नेकपा पार्टी कमिटीको बैठक थियो । बैठकमा प्रमुख अतिथिका रुपमा उनै पाण्डे सहभागी हुने कार्यक्रम तय भएको थियो ।  निर्धारित समयमै बैठक आरम्भ भयो । 

नगर कमिटी अध्यक्ष इमानसिंह लामाले अध्यक्षता गरे, सचिव रामचन्द्र पाठकले बैठक सञ्चालन गरे । प्रमुख अतिथि पाण्डेले आफ्नो धारणा राख्ने समय भयो । उनी बोल्न सुरु गरे । पाण्डेले आफु समेत सहभागी रहेको कार्यदलले मदन भण्डारी फाउण्डेशन, पुष्पलाल मित्रता केन्द्रका गतिबिधीले पार्टीमा गुटबन्दी बढाएको निष्कर्षसहित सुझाव दिएको बताए । त्यस्ता संस्थाहरुको गतिबिधीलाई निरुत्साहित गर्नुपर्ने आफ्नो स्पष्ट अडान रहेको बताउँदै गर्दा नेकपा बागमति प्रदेश कमिटी सदस्य समेत रहेका राप्ती नगरका मेयर प्रभा बराल बैठकमा प्रवेश गरिन् । 

बरालकै पछिपछि लागेर बैठकस्थलमा केहि युवाहरु हल्ला गर्दै प्रवेश गरे । त्यसरी होहल्लासहित बैठक प्रवेश गर्नेहरुको अगुवाई गरेका थिए, बागमति प्रदेशको कृषि मन्त्री दावा लामाका स्वकिय सचिव(जगन्नाथ थपलिया)को छोरा सुरज थपलिया र अर्का स्वकिय सचिव प्रकाश कालाखेतिले । सो समुहमा कृषि मन्त्री दावा लामाका छोरा र केदार आचार्यको पनि सहभागीता थियो । 

मेयरको पछि लागेर बैठकस्थलमा प्रवेश गरेका समुहले पार्टी एकता जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावादको नारा लगाएका थिए । त्यसरी केहिबेर नारावाजी गरेपछि त्यो समुह बैठकस्थलबाट छाडेर गएको थियो । अराजक समुह बाहिरिएपछि बैठक पुनः सुचारु भएको थियो । राप्ती नगर कमिटीको बैठक सकेर पाण्डे भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी भएका थिए ।  पूर्वमन्त्री पाण्डेको सहभागी बैठकमा हल्ला गर्नेहरु सबै केपी ओली गुटका कार्यकर्ता थिए । 

माधव नेपालले गरे निन्दा
यसैबीच नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुरेन्द्र पाण्डेमाथि गरिएको दुर्व्यवहारको निन्दा गरेका छन् । उनले एक वक्तव्य नै जारी गरेर घट्नाको निन्दा गरेका हुन् ।  नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पाण्डेमाथि गरिएको दुर्व्यवहारको निन्दा गरेका छन् ।
 

Advertisement

२०७७ मंसिर ६ गते:

विज्ञप्ती !

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।

 

Advertisement

Advertisement