स्टक ब्रोकरलाई दिनमै छ करोड ४२ लाख रुपियाँसम्म कमिशन

Advertisement

काठमाडौं । आइतबार सेयर बजारमा ६ अर्ब ९० करोड रुपियाँको कारोबार हुँदा लगानीकर्ताले कमिसन मात्रै करिब ६ करोड ४२ लाख रुपियाँ ब्रोकरलाई बुझाए । त्यस्तै, गत बिहीबार ६ अर्ब ११ करोडको कारोबर हुँदा ब्रोकरले कमिसनबापत मात्रै साढे ६ करोड रुपियाँभन्दा बढी उठाए । मुलुकमा रहेका ५० वटा ब्रोकरले औसतमा दैनिक १० लाख रुपियाँ कमाइरहेका छन् । अझ केही ठूला ब्रोकरको दिनकै आम्दानी करोड हाराहारी पुग्ने गरेको छ । 

सेयर कारोबारमा औसत ब्रोकर कमिसन ० दशमलव ४५ प्रतिशत छ । तर, यो कमिसन सेयर किन्ने तथा बेच्ने दुवैले तिर्नुपर्ने हुनाले वास्तविक कमिसन ० दशमलव ९० प्रतिशत हाराहारीमा हुन्छ ।

Advertisement

दोस्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन अत्यधिक भएको लगानीकर्ताको गुनासो छ । पछिल्लो समय कारोबार रकम अत्यधिक हुन थालेको तथा अनलाइन कारोबारले ब्रोकरको भूमिका पनि घटेका कारण ब्रोकर कमिसन घटाउनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

‘पहिले दैनिक २०–३० करोडको कारोबार हुने गरेकोमा अहिले २–३ अर्बको कारोबार हुन थालेको छ,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तमकुमार अर्यालले भने, ‘अहिले सबै काम अनलाइनबाट हुन थालेको छ, ब्रोकरहरूको भूमिका र जोखिम घटेको छ, त्यसैले कमिसन पनि घट्नुपर्छ ।’ 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement