काठमाडौँ । अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।
जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा वार्षिक २५ अर्ब रुपैयाँ (२४१.६३५ मिलियन अमेरिकी डलर) सम्मको क्षति हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले देखाएको छ । उक्त अध्ययनले हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको देखाएको छ । प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकारसमेत रहेका जलवायु परिवर्तनविज्ञ सुनील आचार्यका अनुसार पर्यटकको मुख्य गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई प्रमुख आधार मानेर अध्ययन गरिएको थियो ।
सन् २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । ‘जलवायुजन्य विपद्का कारण सन् १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९८५ देखि १९९० सम्म जीडीपीमा ०.०७७८ बिलियन रहेको नोक्सानी बढेर सन् २०१० देखि २०१५ सम्ममा १.४६२४ बिलियन भएको छ ।’
तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने अध्ययनको निष्कर्ष छ ।
कान्तिपुर दैनिकबाट ।