'शेखर गोल्छा र चन्द्र ढकाल महासंघको आवश्यकता हो, मिलेर काम गर्न आतुर छु'

Advertisement

रामचन्द्र संघई, उपाध्यक्ष उम्मेदवार, एसोसियट समुह
३६ वर्ष पहिले कपडा आयात गरेर व्यवसायीक यात्रा थालेको रामचन्द्र संघई यतिबेला नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फ उपाध्यक्ष पदको उम्मेदवार छन् । स्थापित व्यवसायीक घराना त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघाई  विगत १५ वर्षेखि महासंघको कार्यसमिति थिए । पदाधिकारीमा पहिलो पटक उम्मेदवार बनेको छु, एसोसियट तर्फ उपाध्यक्षको उम्मेदवार हुँ । सबैबाट राम्रो प्रतिक्रिया पाईरहेको छु । ९ सय २३ जना एसोसियट मतदाता छन् ।

‘म ३६ वर्षदेखि उद्योग व्यवसाय सञ्चालनमा प्रत्यक्ष संलग्न छु । १५ वर्षदेखि महासंघमा कार्य समिति सदस्यको जिम्मेवारी सम्हाल्दै आएको छु । मसँग उद्योग चलाएको र महासंघमा काम गरेको अनुभव छ । रोजगारदाता र मजदुरको संघर्ष, समन्वय सहकार्यको लामो अनुभव प्रत्यक्ष आफैंले भोगेको र समाधान पनि गरेको छु ।’, संघाईले भने ।  

Advertisement

किन उम्मेदवार ?
म विगत १५ वर्षदेखि महासंघको कार्य समिति सदस्यको जिम्मेवारीमा छु । थप योगदान गरौं भनेर पदाधिकारीमा पहिलो पटक उम्मेदवार बनेको हुँ । म उम्मेदवार बनेको एसोसियट तर्फ ९ सय २३ मतदाता छन् । सबैबाट राम्रो प्रतिक्रिया पाईरहेको छु । मसँग उद्योग चलाएको र महासंघमा काम गरेको अनुभव छ । रोजगारदाता र मजदुरको संघर्ष, समन्वय सहकार्यको लामो अनुभव प्रत्यक्ष आफैंले भोगेको र समाधान पनि गरेको छु । 

म उद्योगदेखि व्यापार हुँदै सेवा क्षेत्रको व्यवसायमा पनि संलग्न छु । आयातदेखि निर्यातसम्मको व्यवसायमा सफलता पाईरहेको छु । हामी ठूलो मात्रामा धागो, दाल र खाने तेल, चियाको निर्यातकर्ता पनि हौं । गत वर्षमा डलरमा सबै भन्दा धेरै धागो निर्यात गरेर सीआइपी सम्मान पनि पाएको थिएँ । महासंघमा बसेर देशका उद्योगी व्यवसायीका लागि पनि काम गर्नुपर्छ भन्ने मेरो सोँच हो । मैले आफ्नै उद्योगमा श्रम सम्बन्ध सुधारका लागि राम्रो काम गर्दै आईरहेकाले महासंघमा बसेर त्यसका लागि थप योगदान दिने योजना  छ ।  

चन्द्र ढकाल नै किन ?
चन्द्र ढकाललाई नचिन्ने कोहि व्यवसायी छैनन् । ढकाल सरल स्वभावका सफल र इमानदार उद्यमी व्यवसायी हुन् । ढकालको टिमबाट उम्मेदवार बन्दा केहि न केहि काम गर्न सकिन्छ भन्ने मेरो निष्कर्ष हो । सरकारसँग पनि उद्यमी व्यवसायीको मुद्धा राम्रोसँग डिल गर्न सकिन्छ भन्ने बुझाई पनि हो । उहाँ अहिले एसोसियट उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग रोजगारदाता परिषदको अनुभव पनि छ । उहाँबाट मैले केहि सिक्ने अपेक्षा पनि गरेको छु । शेखर गोल्छा पनि यहि क्लष्टरबाट आउनु भएको हो, काम गर्न सहज हुन्छ भन्ने निष्कर्ष छ । सफल उद्यमीसँग मिलेर काम गर्दा व्यवसायीको मनोबल बढाउन सकिन्छ, लगानीको वातावरणमा थप सुधार गर्न सकिन्छ भनेर ढकालको समुह रोजेको हुँ ।

नेतृत्वको चाह पनि
मतदाताहरुमा आफुले भोट हालेको व्यक्तिले महासंघको मुल नेतृत्व गरोस् भन्ने शुभेक्षा रहन्छ । जुन कुरा स्वभाविक पनि हो । यसपाली एसोसियटको उपाध्यक्ष जिताउनु भयो भने म उहाँहरुको चाहाना पुरा गर्नेछु । 

सामाजिक सुरक्षा कोष 
सामाजिक सुरक्षा कोषलाई आकर्षक र प्रभावकारी कार्यान्वयन मार्फत औद्योगिक श्रम सम्बन्ध सुधारका लागि महत्वपूर्ण संस्थाको रुपमा विकास गर्नु पर्ने आवश्यकता छ । तर विद्यमान सामाजिक सुरक्षा नियमावलीमा श्रमिकहरुले प्राप्त गर्ने प्रतिफल एवम् अन्य निर्धारित कार्ययोजनाहरु पुनरावलोकनको आवश्यकता देख्दछु ।

चुनावी माहोल र एजेण्डा
म चुनावी माहोलबाट उत्साहित छु । म  निर्वाचन जित्छु भन्नेमा ढुक्क छु । रोजगारदाता र श्रमिकको सम्बन्ध सुधार गर्ने मेरो मुल एजेण्डा हो । यसले नै लगानीको वातावरण बनाउन भूमिका खेल्छ । ५० अर्बको राहत प्याकेज कार्यान्वयन अर्काे एजेण्डा हो । निर्यात बढाउन पनि भूमिका खेल्छु । त्यस बाहेक उत्पादन लागत घटाउनका लागि पनि योगदान दिने हो । त्यसका लागि श्रम सम्बन्धको व्यवस्थापन, सस्तो विजुलीको व्यवस्था, न्युन दरको बैंक ब्याजदर जस्ता कुराले भूमिका खेल्छन् । यी विषयहरु मेरो प्राथमिकतामा हुनेछन् । 

कोरोना महामरीले निर्यातजन्य उद्योगको अवस्था नाजुक बनाएको छ । पर्यटन क्षेत्रमा पनि ठूलो समस्या ल्याएको छ । कतिपय मुलुकहरु पुनः लकडाउनको अवस्थामा पुगेका छन् । भारतमै पनि कतिपय प्रदेशहरुमा पुनः लकडाउन भैरहेको छ । हामीले पनि कोरोना महामारीकै बिच पनि अर्थतन्त्र सुधारका लागि भूमिका खेल्नेछौं । 

छिमेकीको जोखिम र अवसर
हाम्रो छिमेकमा तिब्र विकास भैरहेका दुई ठुला अर्थतन्त्र छन् । उनीहरुको तुलनामा हाम्रो अर्थतन्त्रको आकार साह्रै सानो छ । हामीले निर्यातका लागि प्रतिष्पर्धी क्षमता बढाउनुपर्छ । त्यसका लागि सरकारले सहुलियत दिनुपर्छ । चीन र भारतमा रहेको विशाल बजारको उपयोग गर्ने तयारी हामीले गर्नुपर्छ । 

एफडीआई कसरी ?
वैदेशिक लगानी भित्र्याउनका लागि पहिले हाम्रै देशभित्रका उद्यमी व्यवसायीलाई विश्वासमा लिन सक्नुपर्छ । स्वदेशी लगानीकर्ताको विश्वास जितेर विदेशी लगानी भित्र्याउने हो । हामी आफैं पनि त्यसमा योगदान गर्न तयार छौं । भारत र चीनको बजारलाई उपयोग गर्न पनि नेपाललाई आकर्षक वैदेशिक लगानी गन्तव्य बनाउनुपर्छ । 

भोट किन ?
मलाई अमूल्य भोट दिएर, विजयी गराउनुस्, तपाईहरुको मतको कदर गर्नेछु । उद्यमी व्यवसायीहरुको मनोबल उच्च बनाएर लगानीको वातावरण थप मजबुत बनाउन भूमिका खेल्नेछु । 

र, त्रिवेणी ग्रुप......
म त्रिवेणी ग्रुपको निर्देश हुँ । हामीले सबै खाले उद्योग व्यवसायमा लगानी गरेका छौं । सिमेन्ट, कपडा, धागो, चिया, तेल, एलपी ग्यास, अक्सिजन ग्यासमा लगानी गरेका छौं । त्यस बाहेक सेवा मुलक क्षेत्रमा पनि बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीमा पनि लगानी गरेका छौं । आज त्रिवेणी ग्रुपमा १६ हजार नेपालीले रोजगारी पाएका छन् ।

Advertisement

Advertisement