सेयर बजार १८८१ को दोब्बर बिन्दुमा पुग्छः लगानीकर्ता

Advertisement

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले सेयर बजार अझै बढ्ने ठोकुवा गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पुँजी बजार भर्खरै बुलिस ट्रेण्डमा प्रवेश गरेको र त्यसले पुरानो रेकर्ड तत्कालै पार गर्ने बताए । 

फोरमका अध्यक्ष रौनियारले बैंक र हाइड्रो पावर कम्पनीहरुको सेयर मूल्य अझै न्युन बिन्दुमा रहेकाले बजार अझै बढ्ने बताए । न्युन ब्याजदरमा ऋण पाइनु, लगानीका अन्य विकल्पहरु खुम्चिदै जानु, कम्पनीहरुको वित्तिय विवरण पनि राम्रै आउनु तथा बजार बुलिस ट्रेण्डमा प्रवेश गर्नु जस्ता कारणले सेयर बजार पुराना रेकर्ड तोड्ने बाटोमा अघि बढेको रौनियारले बताए । उता, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि सेयर बजारले १८८१ रेकर्डलाई तोडेर दोब्बर विन्दुको उचाई भर्ने दावी गरे । 

बजार अझै बढ्ने प्रशस्तै ठाउँ छ
छोटोलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

अहिले ८ प्रतिशत ब्याजदरमा ऋण पाउन थालिएको छ । तीन।चार दिनमै बैंकले ऋण दिन्छन् । त्यसमा पनि नेपाल बंगलादेश बैंक, कुमारी बैंकले ट्रान्ज्याक्सन लोन(बीटी लोन) पनि दिईरहेका छन् । अर्काे कारण भनेको चार वर्षको साइकल पुरा गरेको बजार अब तन्किने अवस्था पनि बनिरहेको छ । उर्जा, बीमा र बैंक तथा वित्तिय संस्थाका अधिकांश सेयरहरु न्युनतम मूल्यमा थिए । 

Advertisement

अहिले सेयर बजार बढ्यो भनिएको छ, बढेको पक्कै हो तर १८८१ को पुरानो रेकर्ड पनि पार गरेको छैन् ।पुँजी बजारको सबै भन्दा ठूलो हिस्सा ओगट्ने बैंकहरुको सेयर मूल्य अझै बढेको छैन् । बैंकका सेयरहरु अझै अण्डर प्राइसिङमै छन् । बैंकहरुको सेयर मूल्य बढेका दिन बजार अझै माथि जान्छ । हाइड्रोहरुमा पनि एक सय रुपैयाँका सेयरहरु १६० देखि २६० को आसपासमा खरिद बिक्रि भैरहेका छन् । सात वर्षको लगानीको ब्याज उठ्ने गरि पनि बजार बढेको छैन् । थुप्रै हाइड्रो पावर कम्पनीहरुले उत्पादन थालेर आम्दानी लिईरहेका छन् । मनसुन राम्रो भएकाले उत्पादन पनि राम्रो भएको छ । त्यसले इपिएस पनि बढाएको छ । बैंकको ब्याजदर घटेकाले पनि हाइड्रोहरुको खर्च कम भैरहेको छ । त्यसले पनि वित्तिय विवरणलाई थप राम्रो बनाईरहेको छ । हाइड्रो पावरहरु पनि बढ्छन्, बैंकहरु पनि अझै बढ्छन् । 

एचआइडीसीएल, शिवम् सिमेन्ट, एसटिसी, बिशाल बजार जस्ता थोरै सेयर भएका कम्पनीहरुको भने सेयर कर्नरिङको सम्भावना पनि रहन्छ । त्यसबाट भने लगानीकर्ता जोगिनुपर्छ । बुलिस ट्रेण्डको बजारमा भारत, चीन, अमेरिकामा पनि कोरोनापछि लगानीको विकल्प सिमित भएकाले पुँजी बजार बढिरहेको देखिन्छ । उद्योगी व्यापारीदेखि गृृहणी, सरकारी कर्मचारी, विद्यार्थी सबै सेयर बजारमा आए । सेयरको माग बढ्यो तर आपूर्ति कम भयो । त्यसकारण नै संसार भरका सेयर बजारहरु बढिरहेका छन् । बजारमा अधिक तरलता छ तर लगानीको विकल्प पुँजी बजार मात्रै देखिएको छ । फेरी पनि बजार आत्तिने गरि बढेको छैन्, दुई चार कम्पनीको सेयर कर्नरिङ भैरहेको छ । तर हाइड्रो र बैंकको वृद्धि भने स्वभाविक नै हो । 

तै पनि लगानी कर्ताहरुले हौसिएर लगानी गर्नु हुन्न । यस्तो समयमा खराब भन्दा खराब कम्पनीहरुको सेयर पनि बढिरहेको हुन्छ । त्यसबाट जोगिनुपर्छ । कम्पनीको प्रोफाइल र लाभांशको अवस्था हेरेर मात्रै लगानी गर्नुपर्छ । तर बजार अझै बढ्ने देखिन्छ । १८८१ को रेकर्ड नाघ्छ । यतिबेला बजार मात्रै होइन कारोबार रकम पनि बढिरहेको छ । ६ अर्ब ९० करोडको कारोबार सानो होइन् । बजार बुलिस ट्रेण्डमा छ, लगानीकर्ताहरुले सम्हालिएर लगानी गर्नुपर्छ । अलिअलि कारोबार पनि गर्नु पर्छ । बुलिस टाइममा नकमाए कहिले कमाउने ?  अब भने नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तर्फ तत्काल कदम चाल्नु आवश्यक छ । 
 

१८८१ को दोब्बर पुग्छ
तारा प्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

बजार न्युन बिन्दुमा थियो, पहिलेको उच्चतम विन्दु अझै छोएको छैन् । १८८१ बिन्दुमा सेयर किन्नेहरुको लागत मूल्य पनि अझै भेटिएको छैन् । न्युन बिन्दुमा बजार रहँदा किनेकाहरुले त नाफा गरेका छन् । तर १८८१ मा सेयर किनेकाहरुको त अझै लागत नै उठेको छैन् । बजार अझै बढ्छ भन्ने कुरामा शंका छैन् । बैंकहरु अझै पनि अण्डर प्राइसिङमै छन् । बैंकहरु नबढेसम्म बुल आउँदैन् । हामी बुलमा प्रवेश गरेको झण्डै एक वर्ष जति भयो । त्यसबिचमा कोरोनाले दुःख दियो । अबको तीन वर्षसम्म बजार बढ्ने ठाउँ छ । अबको बुल १८८१ को दोब्बर हुन्छ । 

पहिलेको बुलमा हाइड्रो पावरहरु बढेका थिए, यसपाली अझै बढेका छैनन् । बैंकहरुलाई बुल लागेकै छैन् । माइक्रोफाइनान्सहरु अझै बढेका छैनन् । त्यसकारण पनि बजार अझै बढ्छ भन्ने प्रशस्तै आधारहरु छन् । अब भने सेबोनले ब्रोकर कमिसन घटाउन तिर पनि लाग्नु आवश्यक छ । 
 

Advertisement

Advertisement