लगानीकर्ताले भनेः  ब्रोकर कमिसन ०.२५ प्रतिशत बनाऔं

Advertisement

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुको बिभिन्न संगठनहरुले नयाँ रेकर्डलाई स्वागत गरेका छन् र अब तत्कालै ब्रोकर कमिसन घटाउन माग गरेका छन् । लगानीकर्ताहरुका बिभिन्न संगठनहरुले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ७ अर्ब ६१ करोड ३० लाख ३० हजार बराबरको सेयर कारोबार हुनु र नेप्से परिसूचक १८९३.२४ अंक पुगेको घट्नाले हौसला बढाएको बताए । 

उनीहरुले कारोबार रकम बढेको र नेप्से परिसूचक पनि उकालो लागिरहेको वर्तमान अवस्थामा तत्कालै ब्रोकर कमिसन घटाउनुपर्ने धारणा अघि सारेका हुन् । उनीहरुले अबदेखि ब्रोकर कमिसनको दर ०.२५ प्रतिशत बनाउनुपर्ने माग पनि अघि सारेका छन् । 

नेप्से अनलाईन प्रणाली २०७५ साल कार्तिक २० गतेबाट सुरूवात भएर बिहिबारसम्ममा एक लाख ८५ हजार  लगानिकर्ताहरू त्यसमा समावेश भएर कारोबार गरिरहेको पनि उनीहरुले बताएका छन् । र मंसिर ११ गते अनलाइन प्रणाणीबाट ८७.८५ प्रतिशत कारोबार भएकोमा पनि लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । 

अनलाइन प्रणालीको सफल कार्यान्वयन र नेप्सेलाई नयाँ उचाईमा पुर्याउन भूमिका खेल्ने सबैलाई लगानीकर्ताहरुले धन्यवाद पनि ज्ञापन गरेका छन् । उनीहरुले नेप्सेको अनलाइन प्रणाली र सिडिएसको मेरो सेयरमा देखिएको समस्या तत्काल समाधानका लागि पनि आग्रह गरेका छन् । पुँजी बजारमा ८० प्रतिशत हिस्सा ओगटेका बैंक तथा वित्तिय संस्थाहरुको सेयर मूल्य अझै न्युन रहेकाले बजार अझै बढ्ने विश्वास पनि लगानीकर्ताहरुले व्यक्त गरेका छन् । 

Advertisement

लगानिकर्ताहरूले आफुले लगानि गर्ने कम्पनिहरूको विगतको ईतिहास, संचालकहरूको सामाजिक हैसियत,कम्पनिद्वारा वितरित लाभांश ईतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्नेमा भने उनीहरुले पनि जोड दिएका छन् । 

नेपालको शेयर बजारले ४ वर्षको वियरिस ट्रेण्डबाट भर्खर बुलिस ट्रेण्ड समातेको पनि उनीहरुको निष्कर्ष छ । पुँजिबजारको विकासमा नियामक निकायले चालेका सकारात्मक कदमहरू,नट्सको सफल कार्यान्वयन,शेयरकर्जाको व्याजदरमा कमि, देशको सोधानान्तर वचतमा बढोत्तरी,विप्रेषण प्रवाहमा वृद्धि,अधिकांस बैंक तथा वित्तिय संस्थाको सन्तोषजनक त्रैमासिक वित्तिय विवरण,कोभिडको नकारात्मक प्रभाव कम हुनुको साथै खोपको सफल परिक्षणले पनि बजार बढाउन भूमिका खेलेको बताए । त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलको पुँजिबजार मैत्री व्यवहारका कारण पनि बजार बढेको सेयर लगाानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बताए ।


Advertisement

Advertisement