वित्त कम्पनीहरुको वित्तीय अवस्थाः नाफा धेरै गर्नेमा आइसीएफसी फाइनान्स

Advertisement

काठमाडौं । चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण १९ कम्पनीले प्रकाशित गरेका छन् । उक्त वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा आइसीएफसी फाइनान्स कम्पनीले कमाएको छ । 

कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ९ करोड ३७ लाख २० हजार नाफा कमाएको हो । कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०६ प्रतिशतले वृद्धि भएको हो । 

Advertisement

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ५ लाख नाफा कमाएको थियो । दोस्रोमा गोर्खाज फाइनान्स कम्पनीले रू. ६ करोड ५८ लाख नाफा कमाएको छ । त्यसैगरी चालू आवको पहिलो त्रैमासमा ४ कम्पनी घाटामा रहेका छन् । नेपाल फाइनान्स, वेष्ट फाइनान्स, ललितपुर फाइनान्स र प्रोेग्रेशिभ फाइनान्स घाटामा रहेका हुन् । 

यी चार कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सले रू. २ करोड ३६ लाख ८३ हजार घाटा व्योहोरेको हो । चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका १९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सिर्जना फाइनान्सको नाफा वृद्धि भएको छ । 

कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा ६११ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २७ लाख ५८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ९६ लाख ३४ हजार पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । 

सबैभन्दा बढी प्रतिशेयर आम्दानी आइसीएफसी फाइनान्सको रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४४ दशमलव २२ रहेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी गत आवको पहिलो त्रैमासमा रू. १३ दशमलव ८६ थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको हो । 

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement