महासंघ चुनाव: म्याच फिक्सिङदेखि जातीय एकतासम्म

Advertisement

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको ५४औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्षमा शेखर गोल्छा स्वतः चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार गोल्छा अध्यक्ष भएका हुन् । 

जिल्ला नगरबाट पनि महासंघको अध्यक्ष हुन पाउनुपर्ने अडान राख्दै आएका किशोर प्रधान पराजित गर्दै चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन् । एकपछि अर्को सफलताको खुडकिलो चढ्दै यहाँसम्म आएका ढकालले महासंघको नेतृत्व गर्ने खुडकिलो पनि उक्लिएका छन् ।

Advertisement

गोल्छा अध्यक्ष र ढकाल वरिष्ठ उपाध्यक्ष बने पनि चर्चाको शिखरमा भने ढकाल नै देखिन्छन् । कारण, ढकालले निर्वाचन जितेर अर्को कार्यकालका लागि मार्ग प्रशस्त गरेका छन् । तर, गोल्छाले साढे तीन वर्षअघि नै वरिष्ठको निर्वाचन जितेर अहिले ढकालले जस्तै बधाई र वाहवाही पाईसकेका थिए । अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक यस निर्वाचनमा केही रमाईला र रहस्यपूर्ण तथ्यहरु सार्वजनिक भएका छन् । ती तथ्यहरु समयक्रमसँगै खुल्ने जाने देखिन्छ । 

तथ्य नं. १ः निर्वाचन कस्को ?
वरिष्ठ उपाध्यक्षको निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान प्रतिष्पर्धी थिए । तर निर्वाचन भने चण्ढी ढकाल र पशुपति मुरारका तथा शेखर गोल्छालाई धेरै लागेको देखिन्थ्यो । लाग्थ्यो प्रतिस्पर्धा चण्डी र मुरारका–शेखरबीच भइरहेको छ । 
चण्डी ढकाल आफ्नो विरासत जोगाउन चाहान्थे भने मुरारका र गोल्छा ढकालको जगजगि भत्काउन । 

नतिजा अनुसार ढकालले अघि सारेका ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । तर मुरारका र गोल्छाले सहयोग गरेको टिमले महासंघमा सुविधा जनक बहुमत पायो । चण्डी ढकालले आफ्नो गढ भन्ने गरेको जिल्ला नगरमै चन्द्र ढकालले एक मतले पछि परे । जिल्ला नगरमा चन्द्र ढकाल पक्षका भन्दा पनि किशोर प्रधान पक्षका धेरै उम्मेदवार निर्वाचित बने । 

तथ्य नं. २ः  म्याच फिक्सिङ
किशोर प्रधानले आफ्नो समूहलाई शेखर गोल्छा समूह भनेर प्रचारप्रसार गरेका थिए । उनको समूहका हरेक उम्मेदवारले समूहका लागि मत माग्थे । स्वयं प्रधानले पनि क्रस भोटिङ नगर्न सार्वजनिक अपिल नै गर्दै सचेत गराइरहेका थिए । तर नतिजामा क्रस भोटिङ प्रष्ट देखियो । अन्ततः आफ्नो समूहका अधिकांश उम्मेदवार जिते पनि प्रधान भने पराजित बने । 

प्रधान समूहले एसोसियटमा बहुमत सदस्य जित्यो । तर उपाध्यक्ष सौरभ ज्योतिले निर्वाचन हारे । जबकी सौरभलाई लोकप्रिय र सफल युवा उद्यमीका रुपमा चिएका थिए । प्रधान पनि भारी मतले पछि परे । उता, वस्तुगततर्फ पनि प्रधान समूहका अञ्जन श्रेष्ठले भारी मतले निर्वाचन जिते । तर उनलाई आएको सबै भोट प्रधानलाई आएन । बरु ढकालतर्फ सोझियो । प्रधानले वस्तुगतमा राम्रो मतको अपेक्षा गरेका थिए । तर, परिणाम ठिक उल्टो देखियो । एउटा टिमका उम्मेदवारले अर्को टिमसँग म्याच फिक्सिङ गरेको स्पष्टै देखिन्छ । 

मारवाडी एकता र ज्योतिको पारिवारिक कलह
एसोसियट उपाध्यक्षमा उम्मेदवार घोषणा गर्दा सौरभ ज्योति निकै उत्साहित देखिन्थे । उनले आफू निर्विरोध हुने आंकलन पनि गरेका थिए । यसअघिको निर्वाचनमा चन्द्रलाई उपाध्यक्ष बन्न सहयोग गरेका सौरभ ज्योति यस पटक आफूले सहयोग पाउने आशा थिए । तर, त्यस्तो हुन सकेन । उल्टै उनले झिनो मतअन्तरले पराजय भोग्नुपर्यो । 

एसोसियट उपाध्यक्षमा ढकाल समूहबाट अघि सारिएका रामचन्द्र संघई एकाएक सफल हुन पुगेका छन् । लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने संघईले निर्वाचन जित्नेबारे बजारमा निकै थोरैले मात्रै अनुमान गरेका थिए । अन्ततः उनले उपाध्यक्ष हात पार्न सफल भए । यसमा मारवाडी समुदायबीचको एकताको रुपमा हेरिएको छ । मारवाडी समुदाय आफ्नो समुदायका उम्मेदवारका हकमा सम्झौता गर्न सक्दैनन् भन्ने उदाहरण संघईको जितले देखाएको छ ।  

जबकी पशुपति मुरारका र शेखर गोल्छाले नै सौरभ ज्योतिले सहजै निर्वाचन जित्ने बताईरहेका थिए । तर, परिणाम फरक ढंगले आएपछि महासंघभित्र गाईंगुईं समीक्षा टिकाटिप्पणी हुन थालेको छ । उता, सौरभ ज्योति भने ‘ओभर कन्फिडेन्स’ र पारिवारिक कलहको शिकार बनेको कतिपयको विश्लेषण छ । जित सुनिश्चत भनेर ढुक्क देखिएका उनले आफूलाई महासंघको भावी नेतृत्वको आकांक्षीको रुपमा समेत प्रस्तुत गर्नु उनका प्रतिस्पर्धीका लागि चुनौति बनेको हुनसक्छ । तर, धेरै सौरभ ज्योतिको महासंघमा अनुपस्थितिप्रति दुखित छन् । 

बिशिष्टमा जुँगाको लडाई 
चण्डीराज ढकाल लगातार चार कार्यकालदेखि महासंघको बिशिष्ट सदस्य रहँदै आएका छन् । उनले त्यही विशिष्ट सदस्य पदमार्फत महासंघको जिल्ला नगरमा पकड कायम राख्ने गरेका छन् । महासंघको विधानमा पूर्व अध्यक्षहरुमध्येबाट एक जनालाई विशिष्ट सदस्य बनाउने व्यवस्था छ । यसपटक ढकालका उम्मेदवार चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका छन् । तर अध्यक्ष भने शेखर गोल्छा छन् । उनैसँग सुविधाजनक बहुमत पनि छ । पशुपति मुरारकाले विशिष्ट सदस्य बन्न चाहेको चर्चा सुनिन्छ । तर, मुरारकाले भने त्यसबारे मुख खोलेका छैनन् । चुनावको नजिताले पनि अब चण्डी फेरि विशिष्ठ दोहोरिने संभावना निकै न्यून देखिन्छ । त्यो ठाउँ पूर्ति गर्ने काम मुरारकाले गर्नसक्ने संभावना भने बढि देखिएको छ । 

महासंघमा दुई सत्ता
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार अध्यक्ष भन्दा पनि वरिष्ठको बढी चर्चा हुने गरेको देखिन्छ । गोल्छा अध्यक्ष बनेका छन् । तर वरिष्ठमा निर्वाचित ढकाललाई अध्यक्ष जसरी नै प्रचार प्रसार गरिएको छ । गोल्छा र ढकाल दुबै फरक फरक समूहमा थिए । निर्वाचनअघि दुबैले एक अर्का विरुद्ध आक्रामक अभिव्यक्ति पनि दिएका थिए । अब पनि महासंघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दुई समानान्तर शक्ति केन्द्र स्थापित हुने त होइन ? भन्ने आशंका भने मतदातामा देखिएको छ । 

पैसा हुनेहरुले निर्वाचन जिते
महासंघ आफैंमा साहुहरुको छाता संस्था, त्यसमा पनि यसपटक पैसा हुनेहरुले निर्वाचन जितेको चर्चा छ । किशोर प्रधानलाई पैसा नभएका तर निष्ठावान र महासंघको राजनीतिमा लामो योगदान दिएका व्यक्तिका व्यक्ति हुन । उनले महासंघको नेतृत्व यसपटक मात्रै होइन पटक पटक त्यही पैसाकै कारण गुमाउनु परेको छ ।

पुष्पलालका छोरा हारे
नेकपाका संस्थापक महासचिव पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले यसपटक लज्जास्पदरुपमा पराजय व्यहोरे । उनी दोस्रो कार्यकाल वस्तुगत तर्फबाट उपाध्यक्ष बन्न चाहान्थे । पुष्पलालका छोरा भएकाले सधैं सहानुभूतिको मत पाउँदै आएका उमेशले यस पटक भने त्यो मौका पाएनन् । महासंघमा उनको खासै ठूलो योगदान र नेतृत्व क्षमता पनि देखिन्न । 

अब गुट सकियोः ढकाल
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि चन्द्र ढकालले गुट सकिएको दावी गरेका छन् । निर्वाचन जित्नेहरुले यस्तो प्रक्रिया दिनुलाई प्रायः नौलो मानिन्न । उनले निर्वाचन अवधीभर गुट रहेको र परिणामपछि सबै एक जुट भएर व्यवसायीको हितका लागि काम गर्ने पनि बताएका छन् । तर, ढकालको आगामी कार्यशैली कसरी अघि बढ्छ हेर्न बाँकी छ । उनले शेखर गोल्छा आफ्नो पनि अध्यक्ष भएको र उनीसँगै मिलेर निजी क्षेत्रको हितमा काम गर्ने बताएका छन् । ढकालले आफूसँग निर्वाचनमा पराजित भएका किशोर प्रधानको क्षमताको पनि उपयोग गरेर महासंघलाई अघि बढाउने बताएका छन् । हेरौं के के गर्छन् ?

Advertisement

Advertisement