'नेपाल एसियाकै नं. १ भ्रष्ट मुलुक' भन्ने ट्रान्सपरेन्सीको प्रतिवेदन पूर्वाग्रही छः सरकार

Advertisement

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै अस्विकार गरेको छ । 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेकोले त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने बताएका हुन् । 

Advertisement

ट्रान्सपरेन्सी इन्टरनेशनल एसियाले सर्वेक्षणका आधारमा जारी गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रपतिसम्मलाई भ्रष्टहरुको संरक्षणको रुपमा औंल्याउँदै नेपाललाई एसियाको नं. १ भ्रष्ट मुलुकमा राखेको थियो । उक्त प्रतिवेदनपछि सरकारको चर्को आलोचना भइरहेको बेला आज सरकारले उक्त प्रतिवेदनका बारेमा आफ्नो धारणा राखेको हो । 

ट्रान्सपरेन्सीको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको गुरुङको तर्क छ । जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बद्नाम गरिएको उनले आरोप लगाए । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक रहेको आरोप लगाउँदै गुरुङले भने, ‘सरकारविरुद्ध गतिविधि गर्ने व्यक्तिको धारणा लिएर प्रतिवेदन तयार पारिएको छ । सरकारविरुद्धमा मिसनको रुपमा प्रतिवेदन तयार पारिएको छ। सरकारप्रति वितृष्णा जगाउने काम गरिएको छ ।’

उनले बाघ कराउनु र बाख्रा हराउनुजस्तो केही प्रतिक्रियावादीले अभियान चलाएको भन्दै जनतामा निराशा र भ्रम छर्ने प्रयास भएको दावी गरे । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको गुरुङको भनाई छ । 

Advertisement

Advertisement